विद्युतको लाईन चुडिएर करेन्ट लाग्दा तीन जनाको मृत्यु

दाङ, १० चैत । दाङमा विद्युतको लाईन चुडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो ।

दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।


नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।