अब मेट्रोका विद्यार्थीले गर्नेछन्, मोटरसाईकलदेखि एसीसम्मको मर्मत 

तुलसीपुर, ८ साउन ।  नेपालमा व्यावहारिक शिक्षा नहुँदा उत्पादित जनशक्तिले काम नपाएको भनेर गुनासा सुनिन्छन् । हुन पनि सैद्धान्तिक ज्ञान भएरमात्रै बजारमा बिक्न सकिँदैन भन्ने उदाहरण जताततै भेटिन्छन् ।
यस्तै चर्चा र उदाहरणका कुरा उठिरहँदा दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)ले भने सैद्धान्तिक र व्यावहारिक अभ्यासलाई सँगसँगै अगाडि बढाएको छ । शिक्षालयले विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि ‘मेट्रो मर्मत केन्द्र’ सञ्चालनमा ल्याएको छ । प्रयोगात्मक भनेपछि धेरैलाई लाग्ला अरू विद्यालयले गर्ने कर्मकाण्डी अभ्यास मात्रै त होला ! तर होइन, यहाँका विद्यार्थीले प्रयोगात्मकसँगै आम्दानी गर्नेछन् ।
विद्यार्थीले विभिन्न विद्युतीय सामग्रीहरू मर्मत गर्छन् । यहाँ बिग्रिएका फ्रिज, एसी, पङ्खा, कपडा धुने मेसिन, पानी तान्ने मोटर, मोटरसाइकल, बेञ्चलगायत सामग्री मर्मत गरिने विद्यार्थी तारा कुँवरले बताए । ‘सैद्धान्तिक ज्ञान आर्जन गर्नुका साथै पढेको कुरा व्यवहारमा पनि उतार्ने लक्ष्यसहित मर्मत केन्द्र सञ्चालन गरिएको छ । यसले आम्दानीसँग जोड्न पनि मद्दत गर्नेछ’, उनले भने ।
कलेज प्रमुख वसन्त आचार्यले कलेजमा मेकानिकल इञ्जिनियर र इलेक्ट्रिक विषय अध्ययनरत १० जना विद्यार्थीलाई पहिलो चरणमा जिम्मा दिइएको जानकारी दिए । विद्यार्थीलाई कलेजले नै आवश्यक तालिम दिएर मर्मत केन्द्र सञ्चालन गरिएको र यसबाट विद्यार्थीले व्यावहारिक सीप विकाससँगै आम्दानी गर्नसक्ने उनले बताए ।
‘कलेजमा सैद्धान्तिक ज्ञान त दिइरहेका छौँ तर व्यावहारिक ज्ञानसमेत दिएमा भविष्यमा विद्यार्थीलाई प्रतिस्पर्धी बजारमा बिक्न सहज हुनेछ । अध्ययन गर्दागर्दै केही आम्दानी पनि हुने भएकाले औपचारिकताका लागि अरूकहाँ प्रयोगात्मक अभ्यासमा लिनुभन्दा आफ्नै केन्द्र सञ्चालन गरेर विद्यार्थीलाई अभ्यास्त गराउने उद्देश्य हो’, उनले भने ।
हिजोदेखि सञ्चालनमा आएको मर्मत केन्द्रका कलेजले करिब रु डेढ लाख बराबरका सामग्री किनिदिएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले विद्यार्थीहरूको प्रयोगात्मक कार्यका लागि मर्मत केन्द्र सञ्चालन गरिए पनि त्यसबाट विद्यार्थीले आम्दानी पनि गर्ने बताए  । “विद्यार्थी उत्पादनमा जोडिनुपर्छ भन्ने हाम्रो सोच हो । त्यही नीतिअनुसार मर्मत केन्द्र स्थापना गर्ने सल्लाह भएको हो । यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै जीवनोपयोगी व्यावहारिक सीप पनि दिनेछ, जसबाट तत्कालका लागि आम्दानी र भविष्यमा स्वरोजगारसहित आत्मनिर्भर बनाउन सहज हुने हाम्रो अपेक्षा छ”, नगरप्रमुख खड्काले भने ।