
तुलसीपुर,९ साउन ।
दाङको बबई गाउँपालिकामा चालु वर्षमा साढे २ किलोमिटर सडक कालोपत्रे भएको छ । पालिका अध्यक्ष कुलबहादुर खत्रीका अनुसार गएको आर्थिक वर्ष २०८२/०८३ को अहिलेसम्म २.५७ किलोमिटर कालोपत्रे भएको हो ।
त्यस्तै सडक नाला तथा सिंचाई नाला गरि जम्मा ८.५ किमि, ग्राभेल ७.४२ किमि, स्तरउन्नति ४ किमि भएको छ, भने करिब १० किमि नयाँ ट्रयाकको काम समेत भएको छ । उहाँका अनुसार पालिकाले चालु वर्षमा भ्यू टावर निर्माण कार्य समेत सम्पन्न गरेको छ, भने चिस्यान केन्द्र निर्माण कार्यको ९० प्रतिशत काम पूरा भएको छ ।
त्यस्तै नागरिकको स्वास्थ्य सम्बन्धीको संवैधानिक हकलाई सुनिश्चित गर्न विभिन्न उपचारात्मक सेवाका साथै चेतनामुलक कार्यक्रमहरु संचालन भएको, विभिन्न लक्षित समूहहरुको उच्च सम्मान गर्दै लक्षित कार्यक्रमहरु संचालन भएको समेत अध्यक्ष खत्रीले बताउनुभयो ।
उहाँले नागरिकलाई छिटो छरितो सेवा दिन घुम्ती शिविर संचालन समेत गरेको बताउनुभयो । स्थानीय सरकारबाट नागरिकको तिब्र आशा हुने उहाँले बताउनुभयो । सोही अनुसार स्थानीय सरकारको अधिकार प्रयोग गरि सेवा प्रवाहसंगै विकास निर्माणमा जोड दिएको उहाँको भनाई छ ।



लाइभदाङ । ९ श्रावण २०८३, शनिबार ०६:२४ बजे