तुल बहादुर कवँर मगर
देउखुरी, ६ वैशाख ।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ।
राप्ती गाउँपालिका दाङको आयोजना तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा बिहीबार गाउँपालिकाको सभाहल मसुरीयामा शिविर सम्पन्न भएको हो। शिविरमा ४५ जना १८ वर्षसम्मका शारिरीक अपांगता भएका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो।
त्यस्तै २ जनालाई ह्युलचियर र ३ जनालाई बैषाखी प्रदान गरिएको थियो भने ९ जनालाई कृतिम अंग र सहायक सामाग्री प्रदान गर्नका लागि नाप लिइएको छ।
त्यस्तै शिविरमा २ जना बालबालिकाको खुट्टाको प्लास्टर गरिएको थियो भने ३ जना बालबालिकालाई शल्यक्रिया गर्नका लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा रिफर गरिएको छ । रिफर गरिएका खुट्टा, हात र अन्य शारिरीक समस्या भएका बालबालिका रहेका छन् ।
शिविरमा स्वास्थ्य सेवा लिन आएका बालबालिकाहरुको फिजियोथेरापी गरिनुका साथै निःशुल्क औषधि वितरण र आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको परामर्शकर्ता लेखनाथ आचार्यले जानकारी दिनुभयो ।
डाक्टर निरन्जन थापा ,फिजियो थेरापिष्ट गंगा शाक्य ,प्रक्टिस नर्स शशिकला महत, फिजियो टेक्निसीयन पार्वती अधिकारी,सहायक सामग्री विशेषज्ञ श्याम दाहाल लगायतले शिविरमा सहभागी बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चौधरी,स्वास्थ्य शाखा प्रमुख नारायण राउत लगायतको उपस्थिति रहेको थियो ।
लाइभदाङ । ६ बैशाख २०८१, बिहीबार १९:०७ बजे