अझै पनि धामीझाँक्रीकै भर !

अन्जना बिश्वकर्मा
दाङ,२९ जेठ ।
दाङ विकसित जिल्ला मध्ये एक हो । यहाँ स्वास्थ्यको राम्रै पहुँच हुन्छ, भन्ने कुरा सबैलाई विश्वास भएको कुरा हो । तर, दाङमै यस्तो ठाउँ पनि छ, जहाँ अझै पनि धामीझाँक्रीकै भर परिन्छ । बबई गाउँपालिका वडा नं. १ गंगटेमा नजिकमा विशेषज्ञ सेवा छैन । बजार आउन सडक सञ्जाल छैन । त्यसैले जस्तो सुकै बिरामी पर्दापनि झारफुक र धामी झाक्रीकै भर पर्नुपर्ने अवस्था रहेको स्थानीय गम्बरचन रोकाले बताए । ‘नजिकमा विशेषज्ञ स्वास्थ्य सेवा छैन’,उनले भने‘केही बिरामी परे झारफुक र धामी झाँक्री कै भर पर्नुपर्छ ।’

गंगटेमा एउटा स्वास्थ्य चौकी छ । त्यो स्वास्थ्य चौकीमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूलो–ठूलो उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । त्यसमा पनि वर्षादको समयमा सडक अवातजावत समस्या हुन्छ । त्यस्तो अवस्थामा बिरामीलाई कोहलपुर लैजानकालागि राष्ट्रिय निकुन्जको बीचबाट जानुपर्छ । किउरेनीबाट समशेरगञ्ज जानकालागि कम्तिमा पाँच घण्टा हिड्नु पर्छ । बीचमा जंगली जनावरको पनि उत्तिकै डर हुन्छ ।

त्यस्तै गंगटेबाट हापुरे पुग्नकालागि पनि त्यतिकै समय खर्चिनु पर्छ । सडक कच्ची हुनु र बीचमा पर्ने खोलाहरुमा पुल नहुँदा वर्षादको समयमा बिरामीलाई निकै समस्या पर्ने गरेको रोकाले बताए । ‘सडक सञ्जाल पनि छैन, कही बिरामी परेमा बोकेरै बिरामी लैजानु पर्छ’,उनले भने‘सडक बीचका खोलाहरुमा पुल नहुँदा पनि उत्तिकै समस्या हुने गर्छ ।’


गंगटेमा अहिलेपनि ८/१० जना धामी छन् । ति धामीको भर पर्दा वर्षेनी ४/५ जनाको मृत्यु हुने गरेको छ । गंगटेमा १२ सय बढि घरपरिवार छन् । त्यहाँ ५ हजार भन्दा बढि जनसंख्यामा बसोबास छ । तर, अधिकांस ब्यक्ती सुकुम्वासी छन् । ३८ विघा क्षेत्रफल मात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ ।

गंगटेको यो समस्या समाधान गर्नकालागि सडक स्तरोन्नतीको काम अघि बढेको लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्रालय मन्त्री धनबहादुर मास्कीले बताए । उनका अनुसार हाल ५ किलोमिटर सडक कालोपत्रेको काम अघि बढिसकेको छ, भने अन्य १७ किलोमिटर सडक स्तरोन्नतीको काम अघि बढेको छ । साभारः अग्रिम साप्ताहिक