रुकुम पश्चिममा जिप दुर्घटना : २२ दिनको बच्चा र आमासहित पाँच जनाको मृत्यु

रुकुम पश्चिम, ११ जेठ ।
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ को टुरीधारा मोसेखोलामा जिप दुर्घटनामा हुँदा पाँचजनाको मृत्यु भएको छ। बिहीबार सानीभेरी गाउँपालिका– ५ हाँसुबाट मुसिकोट खलंगातर्फ आइरहेको लु १ज १७४७ नम्बरको जिप टुरीधारा मोसेखोलामा दुर्घटना भएको हो।

बाँफीकोट गाउँपालिका– ८ का वडाध्यक्ष धनबहादुर केसीका अनुसार २२ दिनको बच्चा र आमासहित पाँचजनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा बाँफीकोट गाउँपालिका– ५ की रेखा केसी, उनका २२ दिनको छोरा, सानीभेरी गाउँपालिका– ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शीतला केसी रहेको वडाध्यक्ष केसीले बताए। शीतलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र अन्यको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ ।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । उकालोमा ब्रेक फेल भएर जिप सडकबाट खसेजस्तो देखिएको वडाध्यक्ष केसीले बताए ।