विद्यालयको चरम राजनीतिः विव्यस छैन, दुई प्रअ छन्, विद्यार्थीको खाजा रोकियो

दीपक बोहरा
दाङ, १ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ स्थित मावि संक्राममा विद्यालय ब्यबस्थापन समितिको म्याद सकिएको एक बर्ष भन्दा बढि भइसकेको छ । बीचमा पटक–पटक विद्यालय ब्यबस्थापन समिति गठन गर्नकालागि भनेर भेला बोलाईन्छ । तर, कुनै निस्कर्ष निकालिदैन । न त सहमतिबाट नेतृत्व चयन हुन्छ, न त निर्वाचन गर्न नै दिईन्छ । शक्ति र सत्ताको दवावको खेलमा त्यो विद्यालयलाई चपेटामा पारिएको छ ।

कहिल्यै एउटा विद्यालयमा दुई वटा प्रधानाध्यापक बनाएर प्रधानाध्यापकबीच नै फाटो हाल्ने काम गरिन्छ, त कहिल्यै विद्यालय ब्यबस्थापन समिति निर्माणमा किचलो हुन्छ । त्यही कारण विद्यालय पनि सुक्दै जान थालेको छ । हाल डेढ सय मात्रै विद्यार्थी छन् । जहाँ शिशुदेखि १० कक्षा सम्म सञ्चालनमा छ । स्थानीय पटक–पटक दवाव दिदा पनि विद्यालय ब्यबस्थापन समितिले पूर्णता पाउन नसकेको अभिभावक देवराज वलीले बताए ।“पटक–पटक हामीले दवाव दियौं”,उनले भने“तर पनि सुनुवाई भएको छैन ।” गएको साउनमा विद्यालय ब्यबस्थापन समितिको म्याद सकिएको हो । त्यसयता विद्यालय ब्यबस्थापन समितिले पूर्णता पाउन सकेको छैन । मंसिर २५ गते अभिभावक भेला भएको थियो । त्यो भेलाले दुई जना महिला र दुई जना पुरुषलाई सर्वसम्मत रुपमा सदस्यमा चयन गर्ने गरि छलफल अघि बढेको थियो ।

त्यसमा महिलाहरुमा कुरा मिलेपनि पुरुष सदस्यमा कुरा नमिले पछि स्थगित भएको थियो । त्यसपछि समन्वय गर्नकालागि विद्यालयका शिक्षकहरु सम्मिलत तीन सदस्यीय सहजीकरण समिति बनेको थियो । त्यो समितिले पुस ५ गते दोस्रो भेला पनि बोलायो । त्यो भेलाले निकास पाउन सकेन । समितिले पटक–पटक गरि तीन पटक सर्वपक्षीय बैठक पनि बसाएपनि उपलब्धी हुन सकेन । “हामी पटक–पटक सर्वपक्षीय बैठक पनि बसायौं”,सहजीकरण समितिका संयोजक विभिसन रोकाले भने“ति बैठकले पनि निकास पाउन सकेन ।”


त्यसपछि उपमहानगरपालिकामा अभिभावकहरु पुगेका थिए । अभिभावकहरुलाई नगर प्रमुखले पुस ३० गते निकास दिने आस्वासन दिएपनि कुनै चासो नदिएपछि बुधबार अभिभावकहरुले उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । धर्ना दिदा नगरप्रमुख खड्का अस्वभाविक रुपमा अभिभावकसंग प्रस्तुत भएका थिए । दिनभर उपमहानगरपालिका नछिरेका नगर प्रमुख खड्का साँझ ६ बजेतिर मात्रै उपमहानगरपालिकामा पुगेर अभिभावकहरुलाई सम्बोधन गरेका थिए । उनले आगामी माघ २ गते भित्र समस्या समाधान गर्ने आस्वासन दिएका थिए ।

दुई प्रअ
अहिले पनि विद्यालयले प्रधानाध्यापक पाउन सकेको छैन । उपमहानगरपालिकाले एक जना शिक्षक पठाएको भएपनि ति शिक्षकले विद्यालय ब्यबस्थापन समितिले पूर्णता नपाउँदासम्म हाजिर नगर्ने भनि विद्यालय गएका छैनन । हाल बिभिसन रोकाले प्रशासन हेर्दै आएका छन् । विद्यालयको खातामा भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्षकै हस्ताक्षर चल्ने भएकाले कुनै आर्थिक गतिबिधि अगाडी बढ्न सकेको छैन ।

दुई जना निजि स्रोतका शिक्षकहरुले एक बर्ष भन्दा बढिको तलब खान पाएका छैनन । त्यस्तै विद्यालयको खाजा कार्यक्रम समेत प्रभावित छ । विद्यार्थीहरुले दुई बर्षदेखि खाजा समेत खान पाएका छैनन ।