उच्च अदालत तुलसीपुरमा जलेका ५८४ मुद्दाका मिसिल प्राप्त, तीन वटा बाँकी

दाङ, ०२ साउन ।
उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२÷०८३ मा लक्ष्य भन्दा बढि मुद्दा फछ्र्यौट गरेको छ । अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीका अनुसार ६५ प्रतिशत लक्ष्य राखिएकोमा ६८ दशमलब ७ प्रतिशत मुद्दा फछ्र्यौट भएका     छन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका दुईसय १२ र नयाँ दर्ता भएका आठ सय ५३ गरी कुल एक हजार ६५ थान मुद्दाको लगत रहेकोमा सातसय २५ थान मुद्दा फछ्र्यौट भएका हुन् । त्यस्तै तीनसय ४० थान मुद्दा आर्थिक बर्ष २०८३/०८४ कालागि जिम्मेवारी सरेका छन् ।

जेनजी आन्दोलनका क्रममा देश भरकै अदालतहरु मध्ये धेरै क्षति भएपनि उपलब्धी हाँसिल गर्न सफल भएको मुख्य न्यायाधीश तिवारीले बताए । आगजनी र तोडफोडका कारण अदालतको भौतिक संरचना र प्रशासनिक संरचना पूर्ण रूपमा ध्वस्त भएको थियो । जसबाट ५ सय ८७ थान मुद्दाका मिसिलहरू जलेर नष्ट भएका थिए । जसलाई पुनः प्राप्त गर्न अदालतले ६० दिने म्याद दिएर सूचना जारी गरी गरेको थियो । त्यसको ६ महिनामा ५ सय ८४ मुद्दाका मिसिल प्राप्त भएका थिए, भने बाँकी तीन वटा मुद्दाका मिसिलहरु अझै प्राप्त भएका छैनन् ।

भवन क्षतिग्रस्त भएपछि न्यायाधीश र कर्मचारीहरूले करिब ७ महिनासम्म गाडी पार्किङबाट इजलास सञ्चालन गरी न्याय सम्पादन कार्यलाई निरन्तरता दिएका थिए । एउटै कोठाबाट दर्ता चलानी, मुद्दा फाँट र प्रशासनका कार्यहरू सम्पादन गर्नुपर्ने बाध्यता रहेको सूचना अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा दुई कोठे अस्थायी भवन निर्माण गरी २०८२ चैत २७ देखि इजलास सञ्चालन गरिएको थियो भने घोराही उपमहानगरपालिकाको सहयोगमा सुरक्षा ब्यारेक भवनमा अभिलेख शाखा व्यवस्थापन गरिएको छ । यद्यपि, बजेटको अभावका कारण अझै पनि सेवाग्राहीका लागि प्रतिक्षालय र पिउने पानी जस्ता आधारभूत सुविधाहरू उपलब्ध गराउन नसकिएको र नष्ट भएका कतिपय मिसिलका कागजातहरू आंशिक रूपमा मात्र प्राप्त भएकाले कार्यसम्पादनमा केही जटिलता कायमै रहेको मुख्य न्यायाधिश तिवारीले बताए ।


आगामी दिनमा मिसिलहरूको डिजिटलाइजेसन गर्ने र न्याय सम्पादनलाई अझ पारदर्शी र छिटोछरितो बनाउने लक्ष्य अदालतले लिएको छ ।

दुई बर्ष नाघेका उजुरी शून्य
उच्च अदालत तुलसीपुरमा दुई बर्ष नाघेका मुद्दा शून्य रहेका छन् । त्यस्तै १८ महिनादेखि २ बर्षसम्मको एउटा मुद्दा बाँकी रहेको छ, भने १ बर्ष देखि १८ महिनासम्मको एउटा, ६ महिनादेखि १ बर्षसम्मका ८३ र ६ महिना भित्रका २ सय ५५ रहेका छन् । यसरी हेर्दा मुद्दा लामो समयसम्म लम्बिएको अबस्था नरहेको मुख्य न्यायाधीश तिवारीले बताए ।

फौजदारी अभियोग बढि
अदालतमा आएका मुद्दाहरु मध्ये सबैभन्दा बढी सरकारी फौजदारी मुद्दा फर्छयौट भएका छन् । जसमा ६ सय १८ मध्ये ४ सय ४६ थान फर्छयौट भएका छन् । त्यस्तै दुनियावादी देवानी तर्फ २ सय १९ मध्ये १ सय २३ थान, दुनियावादी फौजदारी तर्फ १ सय ६ मध्ये ६६ थान तथा एकसय ८ थान रिट निवेदनमध्ये ७९ थान फछ्र्यौट भएका छन् ।

त्यस्तै थुनुवा रहेका मुद्दाहरूको हकमा १ सय २८ थान लगतमध्ये ८ थान फछ्र्यौट भई ४० थान बाँकी रहेका छन् । अदालतको विगत पाँच वर्षको तुलनात्मक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०१÷०८२ मा सबैभन्दा बढी ५.४४ प्रतिशत प्रगति भएको थियो भने २०७९÷०० मा सबैभन्दा न्यून ५०.६६ प्रतिशत मात्र फछ्र्यौट भएको देखिन्छ ।