तुलसी बोर्डिङ चोक आसपासका घर आफ्नो होइनन्, मन्दिरको जग्गाका हुन्

दीपक बोहरा
दाङ, १४ जेठ ।
दाङको तुलसीपुर बजार भित्रकै तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन् । ति घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला । तर, त्यसो होईन्, ४/५ फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका घर हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित सिद्ध रत्ननाथ मन्दिरको जग्गा १० कठ्ठा हो । तर, त्यो जग्गा मन्दिरले उपभोग गर्न पाएको छैन । मन्दिरले अहिले ३ कठ्ठा मात्रै जग्गा भोगचलन गर्दै आएको छ । बाँकी सबै जग्गा अतिक्रमणमा परेको छ । गुठी अन्तरगत रहेको उक्त मन्दिरको जग्गामा ४/५ तले घरहरू निर्माण भएको मन्दिरका संरक्षक तेजनाथ योगीले बताए । “ठूला–ठूला घरहरू बनेका छन्, ति घरहरू हटाउन पनि सकिएको छैन, हामीलाई जग्गा नभएर हैरान छ”, उनले भने“हाम्रो जग्गा फिर्ता ल्याउन कोही निकायले पहल गरे हुने हो ।” अहिलेको तुलसी बोर्डिङ चोक नेर नै पहिले मन्दिर थियो । पछि यता सारियो । त्यो हुँदा अहिले त्यस क्षेत्र अतिक्रमणको चपेटामा परेको उनको भनाई छ ।  त्यहाँ १५/२० वटा घरहरू बनेका छन् ।

मन्दिरकै जग्गामा बनेका घरमा मन्दिरलाई जग्गा वापतको भाडा दिएपनि सहज हुने वा एउटा/एउटा सटर दिएपनि सहज हुने उनको तर्क छ । त्यसकालागि पहल गर्ने गरि अगाडी बढिएको समेत उनको भनाई छ । त्यसकालागि अब सम्बन्धित निकायमा माग गर्ने तर्फ आफूहरुले सोँच बनाएको उनको भनाई छ । मन्दिरको जग्गा भएपनि सबै अतिक्रमणमा पर्दा अहिले सभाहल पनि कहाँ बनाउने, भन्ने कुरा अन्यौल छ । केही दिन अघि सप्ताह लगाएको मन्दिरले सभाहल बनाउने योजना बनाएको छ । अहिले मन्दिरदेखि उत्तरतिर केही जग्गा भएपनि त्यति जग्गाले मात्रै पुग्ने अवस्था नहुँदा समस्या भएको छ ।


मन्दिरको जग्गा भनेको सार्वजनिक जग्गा भएकाले पनि यो जग्गालाई फिर्ता ल्याउन सरकारले पनि साथ दिनुपर्ने बताए । खासगरि ऐलानी भनेर यसरी जग्गामा घर हालेको भएपनि यो नापी जग्गा भएको उनले बताए । बजार विस्तारका क्रममा अतिक्रमण गरेर त्यो जग्गामा घर बनाईएको हो । अहिले ति जग्गामा बनेका घरमा ठूला–ठूला व्यवसाय पनि सञ्चालनमा छन् । विभिन्न सरकारी तथा गुठीको जग्गा अतिक्रमणमा परिरहेको अवस्थामा तुलसीपुर स्थित मन्दिरको जग्गा पनि यसरी अतिक्रमणमा परेको हो । साभारः अग्रिम साप्ताहिक