
तुल बहादुर कवँर मगर
मसुरीया, ४ चैत ।
राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले जिल्लामा पहिलो लालपुर्जा वितरण राप्ती गाउँपालिकाबाटै गर्ने गरी काम गरिरहेको बताउनुभएको छ।
सोमबार गाउँपालिकामा आयोजित वडा स्तरीय भूमि सहजीकरण समितिले प्रमाणीकरण गरी पठाएको भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूको तथ्यांक प्रतिवेदनमाथि छलफल कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले पालिकाका तर्फबाट गर्नुपर्ने ८० प्रतिशत काम सकिएको र बाँकी कार्यसमेत छिट्टै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो।
भूमि समस्या वर्षौदेखि रहँदै आएको समस्या भएको उल्लेख गर्दै उहाँले यसको समाधानका लागि पालिकाले पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो। पटक–पटक सरकार परिवर्तन भएसँगै भूमि आयोगसमेत फेरबदल हुँदा समस्या समाधानमा ढिलाइ भएको उहाँको भनाइ छ। ‘भूमि समस्या राजनीतिक दलहरूले चुनावी मुद्दा बनाउँदै आएको विषय हो। लालपुर्जा वितरण गर्न केन्द्र सरकारले चाहे असम्भव छैन,’ उहाँले भन्नुभयो।



त्यस्तै, पालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले भूमि समस्या समाधानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।नापी कार्यालय लमहीका प्रमुख प्रदीप ज्ञवालीले भू–उपयोग नीतिसम्बन्धी व्यवस्थाहरूबारे जानकारी गराउनुभयो भने सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यक्रम संयोजक रेमन्त चौधरीले भूमि आयोगको कार्यविधि र लालपुर्जा प्राप्तिको प्रक्रियाबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो।
भूमि शाखाका अमिन हेमराज शर्माले भूमि शाखाको कार्य प्रगतिबारे प्रस्तुत गर्दै गाउँपालिकाभर ४ हजार ७ सय ३० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको जानकारी दिनुभयो ।
पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, नापी कार्यालय लमहीका प्रमुख, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका तथा पालिकाका भूमि शाखाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण भूमि,कृषि कार्यक्रम अधिकृत जुगमनी चौधरीले गर्नु भएको छ।
लाइभदाङ । ३ चैत्र २०८१, सोमबार २१:११ बजे