न्युन आर्थिक भएका विद्यार्थीलाई तुलसीपुर उद्योग ब्यापार संघको सहयोग

तुलसीपुर, ३२ असार । साधारणतया उद्योगी र व्यवसायीको परिचय नाफा र व्यापारसँग मात्र जोडेर हेर्ने गरिन्छ। तर, समाजप्रतिको उत्तरदायित्व र भविष्यका कर्णधार विद्यार्थीहरूको शैक्षिक विकासमा पनि निजी क्षेत्रले चासो दिनुपर्छ, भन्ने एउटा उदाहरण तुलसीपुरका व्यवसायीहरूले प्रस्तुत गरेका छन् ।

नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसर पारेर तुलसीपुर उद्योग व्यापार संघले तुलसीपुर उपमहानगरपालिका–५, गैरापातुस्थित जनश्रमिक प्राबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यार्थीलाई प्रोत्साहन र राहत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप सहज, प्रभावकारी र प्रेरणादायी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो। त्यहाँ आर्थिक अभाव वा अन्य कारणले शैक्षिक सामग्रीको जोहो गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरू अध्ययन गर्ने गर्छन् । त्यसैले पनि सोही विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष बेदप्रसाद वलीले बताए ।


संघका अध्यक्ष वेदप्रसाद वलीको अध्यक्षता तथा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिव मिनराज भण्डारीको प्रमुख आतिथ्य एवं केन्द्रीय सदस्य शेषकान्त ढकाललगायतको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक सुशिला भट्टराई, शिक्षक, विद्यार्थी र अभिभावकहरूले व्यवसायीहरूको यो कदमले विद्यार्थीहरूमा नयाँ उत्साह थपेको धारणा राखेका थिए ।

तुलसीपुर उद्योग व्यापार संघका उपाध्यक्ष इन्द्रबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण महासचिव कृष्णबहादुर पुनले गरेका थिए ।