ईप्रका गढवाका प्रहरी निरीक्षक बुढाथोकीको पत्रकारसँग परिचयात्मक भेटघाट

आलोक भावुक
गढवा,३० असार ।
इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा कार्यालयका नवआगन्तुक प्रहरी निरीक्षक साहिल बुढाथोकी र देउखुरी क्षेत्रमा क्रियाशील पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम मंगलबार गढवा मा सम्पन्न भएको छ।

कार्यक्रममा गढवा र राजपुर गाउँपालिकासहित ईप्रका गढवाको कार्यक्षेत्रभित्र पर्ने शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल गरिएको थियो।


प्रहरी निरीक्षक बुढाथोकीले आफ्नो कार्यक्षेत्रभित्र शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले गढवा, राजपुर तथा आसपासका क्षेत्रमा हुने कुनै पनि आपराधिक गतिविधि, सामाजिक विकृति वा शान्ति सुरक्षासँग सम्बन्धित सूचना तत्काल इलाका प्रहरी कार्यालय गढवालाई उपलब्ध गराउन स्थानीयवासी तथा सञ्चारकर्मीलाई आग्रह गर्नुभयो। अन्तरक्रियाका क्रममा पत्रकारहरूले पछिल्लो समय लमही कोइलाबास सडकखण्डमा बढ्दो सवारी दुर्घटना, लागुऔषध ओसारपसार, नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासी, वन पैदावार विशेषगरी काठको अवैध कटानी र ओसारपसार जस्ता समस्या गम्भीर बन्दै गएको भन्दै त्यसतर्फ प्रहरी प्रशासनको प्रभावकारी निगरानी र नियन्त्रण आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा गढवा, लमही, राप्ती तथा भालुवाङ क्षेत्रमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्रहरी र सञ्चारमाध्यमबीच नियमित समन्वय तथा सूचना आदानप्रदानलाई सुदृढ गर्दै शान्ति सुरक्षा कायम राख्न सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।