
दाङ, ७ जेठ – प्रगतिशील लेखक संघ दाङ जिल्ला समितिले महान सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’को २४औं स्मृति दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
राप्ती गाउँपालिकाको सहकार्यमा, यही जेठ १३ गते दिउँसो १२:३० बजे राप्ती गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिने छ। कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूबीच कविता प्रतियोगिता हुनेछ, जसको विषय “अगामी राजनीतिक परिवर्तनमा सहिदहरूको योगदान” रहनेछ।
त्यसैगरी, सहिद कृष्ण सेन ‘इच्छुक’को साहित्यिक तथा राजनीतिक योगदान विषयमा विशेष अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ। कार्यक्रमले युवा पुस्तामा सहिदहरूको विचार र योगदानप्रति समझदारी बढाउने उद्देश्य लिएको सचिब पुरन शर्माले बताए । कार्यक्रममा साहित्यप्रेमी, लेखक, विद्यार्थी र स्थानीय बुद्धिजीवीहरूको उपस्थितिको अपेक्षा गरिएको छ।



लाइभदाङ । ८ जेष्ठ २०८२, बुधबार १७:४७ बजे