
दीपक बोहरा
तुलसीपुर, ३० असार ।
दाङ तुलसीपुरको गहतेखोलादेखि बबई गाउँपालिको पुरन्धारा जोड्ने पातेटाकुरा खोलामा पुल निर्माण पूरा भएको छ । शान्तिनगर गाउँपालिका वडा नं.३ मा पर्ने पातेटाकुरामा निर्माण भएको उक्त पुलको मंगलबारदेखि सूचारु भएको हो ।
शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र तुलसीपुर उपमहानगरपालिका वडा नं.१ का वडाध्यक्ष हुमकान्त सापकोटाले उक्त पुल सूचारु भएको घोषणा गर्नुभएको हो । लुम्बिनी प्रदेश सरकारको लगानीमा सडक पूर्वाधार विकास कार्यालय, दाङ मार्फत उक्त पुल निर्माण भएको हो । जुन पुलले तुलसीपुर उपमहानगरपालिका–१ र शान्तिनगर गाउँपालिका–३ लाई जोड्ने गर्छ ।
सोही पुल निर्माण नहुँदा आवतजावतमा निकै कठीनाई हुने गथ्र्यो । धेरै मानिशहरु बग्ने समेत समस्या थियो । तर, पुल बनेपछि त्यो समस्या हटेर गएको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो ।“पुल नहुँदा बर्षादमा बाढीले छेक्ने गथ्र्यो”,उहाँले भन्नुभयो“केही मानिशलाई बगायो पनि, अब भने यो समस्या हटेर जानेभयो ।”
समयमै काम गर्ने ठेकेदारलाई सम्मान
सोही क्रममा समयमै पुल निर्माण गर्ने ठेकेदारलाई समेत सम्मान गरिएको छ । २०८१ असार १६ गते मोरङ स्थित प्रेमा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले कामको जिम्मेवारी पाएको थियो । जसले यही असारमा सक्नु पर्ने थियो । सोही सम्झौता अनुरुप काम सक्दा बर्षादको समयमा आवतजावतमा निकै सहज हुने भन्दै सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो ।
शान्तिनगर गाउँपालिका वडा नं.३ को आयोजनामा भएको सम्मान कार्यक्रममा पालिका अध्यक्ष प्रमोद बस्नेत, तुलसीपुर १ का अध्यक्ष हुमकान्त सापकोटासहित सहभागी स्थानीयले समेत सम्मान गरेका थिए । २० मिटर लम्बाई र १० मिटर चौडाइमा उक्त पुल निर्माण भएको हो । जसको ठेक्का रकम भ्याटसहित ४ करोड १० लाख ४४ हजार रहेको शान्तिनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष मिनबहादुर केसीले बताउनुभयो ।



लाइभदाङ । ३० असार २०८३, मंगलवार २१:२१ बजे