
रोल्पा, २४ असार ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाइबिसौना क्षेत्रमा बुधबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
दिउँसो घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको बस घोराही–घर्तीगाउँ सहिद मार्ग अन्तर्गत ओरालोमा ब्रेक फेल भई सडकमै पल्टिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार माडी गाउँपालिका–२ की २५ वर्षीया जुनमाया पुनमगर, त्रिवेणी गाउँपालिका–७ का १९ वर्षीय अम्मर झाँक्री, परिवर्तन गाउँपालिका–२ का ३९ वर्षीय रामबहादुर घर्तीमगर र रोल्पा नगरपालिका–३ की २५ वर्षीया मनिषा विकको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
त्यसैगरी दाङको घोराही उपमहानगरपालिका–१६ सर्राकी ५० वर्षीया सुनिता घर्तीमगरको ढाड र टाउकोमा मध्यम प्रकृतिको चोट लागेको छ । यस्तै माडी गाउँपालिका–२ की ३० वर्षीया सुनिता बुढामगर, परिवर्तन गाउँपालिका–४ की ४५ वर्षीया मिरा बुढा, माडी गाउँपालिका–२ का २९ वर्षीय विशाल परियार, माडी गाउँपालिका–५ भावाङकी २९ वर्षीया शर्मिला घर्ती घाइते हुनुभएको छ ।
यस्तै बस चालक २६ वर्षीय चन्द्रवीर पुन, रोल्पा नगरपालिका–७ कोर्चाबाङका ४० वर्षीय टेकबहादुर सार्की, परिवर्तन गाउँपालिका–४ का १७ वर्षीय शिवशक्ति बुढामगर, परिवर्तन गाउँपालिका–३ का २३ वर्षीय विशाल डाँगी तथा माडी गाउँपालिका–२ की ६८ वर्षीया भीमा पुन घाइते हुनुभएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सडक एकतर्फी सञ्चालनमा आएको छ । घटनास्थलमा थप उद्धार तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनीष थापाको नेतृत्वमा ९ जना र जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा ११ जनाको प्रहरी टोली परिचालन गरिएको छ ।
दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



लाइभदाङ । २४ असार २०८३, बुधबार २०:४७ बजे