राप्तीमा मिनि चिस्यान केन्द्र स्थापना : प्रदेश संसद थारुद्वारा उद्घाटन

सिसहनसयाँ, ८ असोज।
दाङको राप्ती गाउँपालिकामा पहिलो पटक मिनि चिस्यान केन्द्र स्थापना भएको छ।

नर्ती वन वातावरण बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहने गरि राप्ती गाउँपालिकाको ६ लाख ६६ हजार र संस्थाको २ लाख २२ हजार गरि कुल ८ लाख ८८ हजार रुपैयाँ लागतमा सो केन्द्रको स्थापना गरिएको हो।

राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजारमा स्थापना गरिएको केन्द्रको मंगलबार लुम्बिनी प्रदेश संसद इन्द्रजित थारुले उद्घाटन गर्नु भएको छ।उद्घाटन कार्यक्रममा बोल्दै संसद थारुले चिस्यान केन्द्रको स्थापना हुनु यस क्षेत्रका कृषिहरुको लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

अहिलेको युगमा कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको बताउदै संसद थारूले यस किसिमका संरचनाहरूले कृषकहरूको उत्पादन क्षमतामा वृद्धि गर्न र उनीहरूको आर्थिक अवस्थालाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै संसद थारूले सरकार कृषकहरूको हितका लागि सधैं तत्पर रहेको र यस्ता परियोजनाहरूको माध्यमबाट कृषकहरूको जीवनस्तर उकास्न प्रयासरत रहेको बताउनुभयो ।


कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले चिस्यान केन्द्रको स्थापनाले स्थानीय कृषकहरूको उत्पादनलाई दीर्घकालसम्म सुरक्षित राख्न मद्दत गर्ने र त्यसबाट उनीहरूले आफ्नो उपजको उचित मूल्य प्राप्त गर्न सक्ने बताउनुभयो । चिस्यान केन्द्र स्थापना भए सँगै यस क्षेत्रका कृषकहरूले भोग्नु परेका समस्याहरुबाट मुक्त हुने अध्यक्ष विष्टको विश्वास रहेको छ।

त्यस्तै अध्यक्ष विष्टले चिस्यान केन्द्रको सफल सञ्चालन र दिगो उपयोगिताको कामनासहित स्थानीय कृषकहरूलाई यसको अधिकतम लाभ उठाउन आग्रह गर्नुभयो ।

४ मेट्रिक टन भण्डारण क्षमता भएको चिस्यान केन्द्रमा कृषकहरूले उत्पादन गरेका तरकारी,फलफूल लगायतका बस्तुहरु भण्डारण गरिने संस्थाका सचिव हरि प्रसाद भुसालले जानकारी दिनुभयो।

गाउँपालिकाको कृषि शाखा सँग समन्वय गरि न्यून भण्डारण शुल्क निर्धारण गरिने संस्थाका सचिव भुसालले जानकारी दिनुभयो । पालिकाले गत वर्षदेखि नै सो चिस्यान केन्द्र नजिकै तरकारी संकलन तथा बिक्री केन्द्र स्थापना गरि सञ्चालन गरेको छ भने कृषि एम्बुलेन्स खरिद गरि सञ्चालनको तयारी समेत गरेको छ।