
मसुरिया, २१ असार ।
दाङको राप्ती गाउँपालिकामा १५ दिने योग प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजना, नागरिक आरोग्य सेवा केन्द्रको सहजीकरण तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिको समन्वयमा गाउँपालिकाको सभा हल मसुरियामा तालिम सञ्चालन गरिएको थियो। तालिम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिका अध्यक्ष एवं योग प्रशिक्षक साहना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले योगले व्यक्तिको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणका लागि योगलाई समुदायस्तरसम्म विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। तालिमबाट उत्पादन भएका प्रशिक्षकहरूले स्थानीय तहमा योग सम्बन्धी ज्ञान र अभ्यास विस्तार गरी स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। प्रमुख अतिथि साहना श्रेष्ठले योगलाई दैनिक जीवनको अभिन्न अंगका रूपमा अपनाउनुपर्नेमा जोड दिँदै दक्ष प्रशिक्षक उत्पादनमार्फत योग अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने बताउनुभयो। उहाँले योगले विभिन्न रोगको रोकथाम, तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यसको अभ्यासलाई नियमित बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।
तालिममा ३२ जनाको सहभागिता रहेको थियो। तालिमको प्रमुख प्रशिक्षकमा साहना श्रेष्ठ र सहायक प्रशिक्षकमा भेषराज भट्टराई रहनुभएको थियो। १५ दिनसम्म सञ्चालन भएको तालिममा योगका सैद्धान्तिक तथा व्यवहारिक पक्ष, विभिन्न योगासन, प्राणायाम, ध्यान, जीवनशैली व्यवस्थापन तथा योग शिक्षणका विधिबारे प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका सहभागीहरूले तालिमबाट योग सम्बन्धी ज्ञान, सीप तथा नेतृत्व क्षमता विकास गर्न सहयोग पुगेको बताएका छन्। उनीहरूले प्राप्त ज्ञान र सीपलाई समुदायस्तरमा प्रयोग गरी योगको महत्वबारे जनचेतना फैलाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।



लाइभदाङ । २१ असार २०८३, आईतवार २०:२५ बजे