शारदा नदीमा डुबेर महिलाको मृत्यु

सल्यान, २१ असार ।
सल्यानको कालिमाटी स्थित शारदा नदीमा डुबेर महिलाको मृत्यु भएको छ । शनिबार कालिमाटी गाउँपालिका वडा ४ मा महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-४ ज्यामिरे निवासी ४६ वर्षीया सिता विक रहेको वडाध्यक्ष बेलबहादुर चन्दले बताउनुभयो ।

घटनाबारे वडाध्यक्ष चन्दले इलाका प्रहरी कार्यालय कालिमाटीलाई जानकारी दिएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक मनोजसिंह बोहराको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।


प्रहरीका अनुसार शनिबार साँझ धान रोपाइँको काम सकेपछि सिता नुहाउन एक्लै शारदा नदीमा जानुभएको थियो । लामो समयसम्म घर नफर्किएपछि उहाँकी १७ वर्षीया छोरी रुपा सुनार खोज्न जाँदा नदीमा घोप्टो परेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ । स्थानीयवासीको सहयोगमा उहाँलाई नदीबाट बाहिर निकालेर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका अनुसार मृतकका श्रीमान् र एक छोरा रोजगारीका सिलसिलामा भारतमा रहेका छन् भने माइती पक्षलाई बर्दियामा खबर गरिसकिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।