
दाङ, ३० कात्तिक ।
दाङका आठ जना सांसद तथा मन्त्रीहरुले दुरुपयोग गरिएका १२ जना सुरक्षाकर्मी फिर्ता गरेका छन् । विशिष्ट व्यक्तिको सुरक्षाका लागि भन्दै १२ जना सुरक्षाकर्मीको दुरुपयोग गरिएको गृह मन्त्रालयको तथ्याङकले देखाएको छ ।
दाङका पूर्व उपप्रधानमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वप्रदेशमन्त्री, पूर्वसांसद पूर्व मन्त्रीको सुरक्षाका नाममा पनि सुरक्षाकर्मी दुरुपयोग भएको भेटिएको छ । गृह मन्त्रालयको तथ्यांकले दाङबाट प्रतिनिधित्व गरेका पूर्व सभामुख तथा उपप्रधानमन्त्री कृष्ण बहादुर महराले २, पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले १, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्ररेलले ३ जना गरी ६ जना सुरक्षाकर्मीको दुरुपयोग गरेको देखाएको छ ।
मन्त्री मात्रै नभएर मृतकका नाममा समेत सुरक्षाकर्मी खटाएर दुरुपयोग गरेको खुलेको छ । दिवंगत भइसकेका दाङका पूर्वगृहमन्त्री खुमबहादुर खड्काको सुरक्षाका नाममा सशस्त्रका एक सुरक्षाकर्मी परिचालन गरिएको थियो । खड्काको ०७४ सालमै मृत्यु भएको थियो । मृतकको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई वर्तमान सरकारले फिर्ता गरेको छ ।
यस्तै पूर्वसांसद शिला खड्काले १, पूर्व सिंचाईमन्त्री दीपक गिरीले २, पूर्व सहरी विकासमन्त्री मेटमणी चौधरीले १, पूर्व सञ्चारमन्त्री रेखा शर्माले १ र पूर्व गृहमन्त्री स्वर्गिय खुमबहादुर खड्काको नाममा समेत १ गरी ६ जना सुरक्षाकर्मीको दुरुपयोग गरेको पाइएको छ । अहिले दुरुपयोग भएका सबै सुरक्षाकर्मी सरकारले फिर्ता गराएको छ ।
यस्तै लुम्बिनी प्रदेशका बाहालवाला मुख्यमन्त्री चेतनारायण आचार्यले ५, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले १ र लीला गिरीले २ जना गरी ८ जना सुरक्षाकर्मीको दुरुपयोग गरेको गृह मन्त्रालयको तथ्याङले देखाएको छ । गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले कार्यविधिभन्दा धेरै खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको बताउनुभयो ।



लाइभदाङ । १ मंसिर २०८२, आईतवार १८:१४ बजे