जनयुद्धमा महिला सहभागिताकै कारण परिबर्तन भएको थियो : पूर्वमन्त्री मास्की

तुलसीपुर, ८ भदौ । लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्की(राजेश)ले जनयुद्धमा महिला सहभागिताकै कारण मुलुकमा परिबर्तन भएको बताएका छन् ।

माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को आयोजनामा शनिबार तुलसीपुरमा भएको तिज बिशेष कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका मास्कीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यो जनयुद्ध सफल पार्न महिला सहभागिताको महत्वपूर्ण हात रहेको बताए ।

चुलोचौकोमै सीमित हुने गरेका महिलाहरु मुलुक परिबर्तनकालागि जनयुद्धमा होमिएकै कारण अहिले समानुपातिक समावेशीताको ब्यबस्था आएको समेत मास्कीको भनाई छ ।


त्यसकै उपलब्धी स्वरुप महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश समेत भइसकेको मास्कीले बताए । साथै अहिले धेरै महिलाहरु नीति निर्माण तहमा पुग्नुको साथै मन्त्री समेत भइरहेको भन्दै यो उपलब्धीलाई रक्षा गर्नु नै अहिलेको जिम्मेवारी रहेको बताए ।

साथै मास्कीले तिजलाई एकता, सामाजिक सदभाव कायम रहने गरि मनाउनु पर्ने समेत बताए । तिजले भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने समेत बताए ।