
मसुरिया, १९ असार ।
दाङको राप्ती गाउँपालिकामा केराको थामबाट रेसा निकाल्ने ८ दिने तालिम शुक्रबारदेखि सुरु भएको छ। स्थानीय स्तरमा उपलब्ध केराको थामलाई सदुपयोग गर्दै रेसा उत्पादनमार्फत आयआर्जन र उद्यमशीलता विकास गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न गाउँपालिकाले उत्पादनमुखी तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले केराको थाम प्रायः खेर जाने गरे पनि त्यसबाट गुणस्तरीय रेसा उत्पादन गरी विभिन्न हस्तकलाजन्य सामग्री निर्माण गर्न सकिने उल्लेख गर्दै तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय स्रोतमा आधारित उद्यम विकासले ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्न सहभागीहरूलाई सुझाव दिनुभयो।
तालिमकी प्रशिक्षक रुकमणी पराजुलीले केराको थामबाट रेसा निकाल्ने प्रविधि, प्रशोधन प्रक्रिया तथा त्यसको उपयोगबारे प्रशिक्षण प्रदान गरिने जानकारी दिनुभयो। उहाँका अनुसार केराको रेसाबाट हाते झोला, पर्स, टोकरी, चकटी, डोरी, सजावटका सामग्रीलगायत विभिन्न हस्तकलाजन्य वस्तु उत्पादन गर्न सकिन्छ। यस्ता सामग्रीको बजार माग बढ्दै गएकाले केराको रेसा उद्यम तथा आम्दानीको राम्रो आधार बन्न सक्ने उहाँले बताउनुभयो।
गाउँपालिकाका अनुसार तालिम वडा नम्बर ७ काे बड्का सिसहनियाँ र ८ काे पिपरीमा सञ्चालन हुनेछ। तालिममा २० स्थानीय महिला तथा कृषकहरूको सहभागिता रहेको छ।तालिम पश्चात् उनीहरुलाई उपकरण समेत प्रदान गरिने बताइएको छ।
तालिमले सहभागीहरूमा सीप विकास गरी स्वरोजगार सिर्जना तथा स्थानीय उद्यम प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लाइभदाङ । १९ असार २०८३, शुक्रबार १९:४९ बजे