‘मासु लिएर आउँछु’ भन्दै घरबाट निस्किएकी ७२ वर्षीया वृद्धा नालामा मृत भेटिइन्

दाङ, १७ असार ।
दाङको बबई गाउँपालिका–३, पीसीओ चोककी ७२ वर्षीया सामरी सार्किनी घर नजिकैको नालामा मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब १:४५ बजे मासु लिएर आउँछुू भन्दै घरबाट निस्किएकी सार्किनी केही समयपछि घर नजिकै रहेको नालामा मृत अवस्थामा भेटिएकी हुन्। उनका छोराहरूले शव फेला पारी घरमा ल्याएपछि दिउँसो २:२० बजे प्रहरी चौकी पुरन्धारालाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पुरन्धाराबाट प्रहरी सहायक निरीक्षक मायालाल बुढाको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा पुगेको थियो।


प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सामरीका श्रीमानको केही वर्षअघि नै निधन भइसकेको थियो। उनी दुई छोरा र तीन बुहारीसँग बस्दै आएकी थिइन् भने कान्छो छोरा रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्।

घटनाको यथार्थ कारण भने खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।