संजीवनी टिचिङ हस्पिटल र श्री मावि झिङनीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सम्पन्न

घोराही,१६ असार ।
संजीवनी टिचिङ हस्पिटल, घोराही–३, दाङको प्राविधिक सहयोग तथा श्री माध्यमिक विद्यालय झिङनी, घोराही–३, बञ्जारीको आयोजनामा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीयबासीका लागि एक दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सफलतापूर्वक सम्पन्न भएको छ। २०८३ साल असार १५ गते सम्पन्न उक्त स्वास्थ्य शिविर विद्यालय परिसरमै सञ्चालन गरिएको थियो। शिविरको उद्देश्य विद्यालय उमेरका बालबालिका तथा समुदायमा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, परामर्श तथा समयमै उपचारको पहुँच विस्तार गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राम प्रसाद चौधरी रहनुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुप बहादुर टोमटा, वडा नं. ३ नागरिक सरोकार समितिका अध्यक्ष पदम सुवेदी, अस्पतालका व्यवस्थापक मदन पन्थी, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, शिक्षक, कर्मचारी, नर्स तथा पारामेडिक्सलगायतको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राम प्रसाद चौधरीले विद्यालय र अस्पतालले संयुक्त रूपमा आयोजना गरेको यस्तो कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयबासीको स्वास्थ्य अवस्था समयमै पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो। उहाँले यस प्रकारका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै वडा अन्तर्गतका अन्य विद्यालयहरूमा पनि यस्तै स्वास्थ्य शिविर सञ्चालन गर्न अस्पताल प्रशासनलाई अनुरोध गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिको मन्तव्य राख्दै संजीवनी टिचिङ हस्पिटलका कार्यकारी प्रमुख दिपक रोका ले विद्यालय उमेर समूहका बालबालिकामा विभिन्न लुकेका स्वास्थ्य समस्या प्रारम्भिक चरणमै पहिचान गर्न विद्यालय केन्द्रित स्वास्थ्य परीक्षण प्रभावकारी हुने बताउनुभयो। उहाँले भन्नुभयो,“विद्यालयमै पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायलाई एकै स्थानमा स्वास्थ्य सेवा उपलब्ध गराउनु सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले सञ्चालन गर्दै आएको सेवामध्ये महत्वपूर्ण कार्यक्रम हो।”


उहाँका अनुसार रोगको प्रारम्भिक पहिचानले कम समय, कम खर्च र प्रभावकारी उपचारमा सहयोग पुग्ने भएकाले यस्ता स्क्रिनिङ शिविरको आवश्यकता बढ्दै गएको छ। साथै सफल व्यवस्थापनका लागि विद्यालय परिवारप्रति अस्पतालले आभार व्यक्त गरेको थियो। कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारी ले समुदायमै रहेको शिक्षण अस्पतालले सेवामूलक भावना र सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा स्वास्थ्य सेवा ल्याउनु प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले विद्यालय परिवारको तर्फबाट अस्पताल व्यवस्थापनप्रति धन्यवाद ज्ञापन गर्नुभयो। शिविरमा विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो। बाल रोग विशेषज्ञ डा। सन्दिप पोखरेल,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। सुनिल कुमार चौधरी ,।प्रसूति तथा महिला रोग विशेषज्ञ डा। विवेक चौवे ,नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा। सुवर्ण बुढामगर लगायतका विशेषज्ञ चिकित्सकहरूले परीक्षण, आवश्यक स्वास्थ्य परामर्श तथा थप उपचार आवश्यक भएका बिरामीलाई सिफारिस समेत गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासकीय अधिकृत सुशील रिजाल ले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयकी शिक्षिका कृष्णा पौडेल ले राख्नुभएको थियो। एक दिने उक्त स्वास्थ्य शिविरबाट दुई सय पचासभन्दा बढी विद्यार्थी तथा स्थानीयबासी लाभान्वित भएका आयोजकले जनाएको छ। विद्यालय तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।