घोराही बनाऔँ अभियानद्वारा ग्यास वितरणमा उपभोक्ता कार्ड लागू गर्न माग

घोराही, १ भदौ ।
दाङमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि घोराही बनाऔँ अभियानले वास्तविक उपभोक्ताको पहिचान गरी उपभोक्ता कार्डमार्फत व्यवस्थित रूपमा ग्यास वितरण गर्न माग गरेको छ। अभियानका संयोजक सबिन प्रियासनले सोमबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउँदै ग्यास अभाव अन्त्य गर्न तत्काल प्रभावकारी वितरण प्रणाली लागू गर्न माग गरेका हुन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निश्लराज पाण्डेले यस विषयमा आफूहरू गम्भीर रहेको भन्दै आजै दिउँसो घ बजे ग्यास वितरण कार्यलाई सहज बनाउन सर्वपक्षीय बैठकको आयोजना गरी निकास निकालिने यसको लागि सबै पक्षलाई साथ सहयोग गर्न अनुरोध गर्नुभयो।

घोराही बनाउँ अभियानले प्रशासनमा बुझाएको ज्ञापनपत्रमा बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताहरू घन्टौँसम्म लाइनमा बस्नुपर्ने, भीडभाड र अव्यवस्थित वितरण हुने तथा वास्तविक उपभोक्ताले समयमा ग्यास प्राप्त गर्न नसक्ने अवस्था देखिएको उल्लेख गरिएको छ।

साथै, यस्तो अवस्थाले कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुने जोखिमसमेत बढाएको अभियानको भनाइ छ। अभियानले जिल्लाका विभिन्न स्थानमा ग्यास वितरणको स्थलगत अवलोकन तथा अनुगमन गरेको जनाएको छ। उपभोक्ता र विक्रेताका समस्या तथा वितरण प्रणालीमा देखिएका व्यवहारिक कठिनाइलाई नजिकबाट बुझेपछि वास्तविक उपभोक्ताको पहिचान गरी ८८‘ग्यास उपभोक्ता कार्ड’८८को व्यवस्था गर्नुपर्ने निष्कर्षमा पुगेको अभियानले जनाएको छ।

ज्ञापनपत्रमा प्रत्येक घरपरिवार तथा वास्तविक उपभोक्ताको अभिलेख तयार गरी डिजिटल वा अभिलेखमा आधारित उपभोक्ता दर्ता प्रणाली विकास गर्न माग गरिएको छ। उपभोक्ता कार्डमार्फत प्रत्येक परिवारलाई निर्धारित पालो र समयअनुसार ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने अभियानको प्रस्ताव छ।

यसबाट विक्रेताकोमा घन्टौँ लाइन लाग्नुपर्ने बाध्यता हट्ने, अनावश्यक भीड नियन्त्रण हुने, एउटै व्यक्तिले दोहोरो वा अनधिकृत रूपमा ग्यास लिन सक्ने सम्भावना कम हुने तथा वितरण प्रणाली पारदर्शी र उत्तरदायी बन्ने अभियानको विश्वास छ। अभियानले जिल्ला प्रशासन कार्यालयको समन्वयमा ग्यास विक्रेता, सम्बन्धित उद्योग तथा आपूर्तिकर्ता, स्थानीय तह, उपभोक्ता प्रतिनिधि र अन्य सरोकारवालालाई सहभागी गराएर स्पष्ट वितरण कार्यविधि बनाउनसमेत माग गरेको छ।


त्यसैगरी, प्रत्येक विक्रेताको क्षेत्रमा रहेका वास्तविक उपभोक्ताको विवरण संकलन गर्ने, ग्यासको मौज्दात, आपूर्ति, बिक्री तथा वितरणको विवरण नियमित रूपमा सार्वजनिक गर्ने, अनियमित भण्डारण, बढी मूल्य असुली, कालोबजारी तथा पहुँचका आधारमा हुने वितरण नियन्त्रण गर्न कडाइका साथ अनुगमन गर्नुपर्ने माग गरिएको छ। ग्यास वितरणस्थलमा हुने भीड व्यवस्थापनका लागि टोल, क्षेत्र वा उपभोक्ता समूहअनुसार निश्चित दिन तथा समय तोकेर वितरण प्रणाली लागू गर्न पनि अभियानले सुझाव दिएको छ।

आगामी चाडपर्वका समयमा ग्यासको माग अझ बढ्न सक्ने भन्दै अभियानले सम्भावित अभाव रोक्न अग्रिम आपूर्ति व्यवस्थापन र पर्याप्त मौज्दात सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरेको छ। उपभोक्ताका गुनासो तथा उजुरी तत्काल सम्बोधन गर्न प्रभावकारी गुनासो सुनुवाइ तथा अनुगमन संयन्त्र निर्माण गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ। घोराही बनाऔँ अभियानले उपभोक्ता कार्ड निर्माण तथा वितरणमा सहजता होस् भन्ने उद्देश्यले तयार गरेको प्रस्तावित ग्यास उपभोक्ता कार्डको नमुनासमेत ज्ञापनपत्रसँगै जिल्ला प्रशासन कार्यालयमा बुझाएको जनाएको छ।

अभियानका संयोजक प्रियासनले यो पहल कुनै व्यक्ति, व्यवसायी वा संस्थाविरुद्ध लक्षित नभई उपभोक्ताको सहजता, पारदर्शी वितरण प्रणाली र बजार व्यवस्थापनका लागि रचनात्मक पहल भएको स्पष्ट पारेका छन्। ग्यास विक्रेताहरूले समेत विभिन्न व्यवहारिक कठिनाइ भोगिरहेको अवस्थालाई ध्यानमा राख्दै प्रशासनको नेतृत्वमा उपभोक्ता र विक्रेता दुवैको समस्या समाधान हुने सहकार्यात्मक प्रणाली विकास गर्नुपर्ने अभियानको भनाइ छ।

ज्ञापनपत्रमा “उपभोक्तालाई लाइनमा होइन, प्रणालीमा जोडौँस पहुँचका आधारमा होइन, पहिचानका आधारमा ग्यास वितरण गरौँ” भन्ने अवधारणासहित तत्काल उपभोक्ता कार्ड प्रणाली लागू गर्न जिल्ला प्रशासन कार्यालयसँग जोडदार माग गरिएको छ। अभियानका संयोजक सविन प्रियासन सहसंयोजक विनोद केसी लगायतको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो। घोराही बनाउँ अभियानले घोराही उपमहानगरपालिकामा पनि यस विषयमा छलफल र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अभियानको उपसंयोजक विनोद केसीले जानकारी दिनुभयो