
दाङ,७ असार ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीले आफ्नो चखौराको संग्राहलय बनाउन, ऐतिहासिक सुकौरालाई सुकाएको गुनासो ब्यापक हुन थालेपछि यस पटक भने चासो देखाएका छन् । उनले सुकौराको विकासकालागि भनेर आगामी आर्थिक वर्षकालागि चार करोड बिनियोजन भएको जनाएका छन् । दुई वर्षमा उनले सुकौरामा थारु संग्राहलय बनाउने गरि बजेट बिनियोजन गरेका छन् । आगामी वर्ष ४ करोड आएपनि दुई वर्षमा ८ करोड ५८ लाखमा काम हुने उनको भनाई छ । “दंगीशरण राजाको दरबार कस्तो थियो ? कल्पना गर्ने र दंगीशरण दरबार बनाएर त्यसैलाई म्युजियम बनाउने हाम्रो योजना छ”,उनले भने “ म्युजियम चाहिँ इतिहासिक दरबारहरु भीम थरकोटमा बसेको होला, कृष्ण र उसले बैपंक्षी माग्न आको बेलामा लडाई गरेपछि श्राव पाएर उनी स्वर्ग गएको कथाहरु, मेलमेलापका कथाहरु समेटेर संग्राहलय बनाउनेछौं । उनले तुलसीपुर उपमहानगर–पालिका वडा नं. ११ सुकौरा स्थित भग्नावशेष भएको स्थानलाई संरक्षण गर्ने गरि काम अघि बढाउने समेत बताए । तत्काललाई चखौरामा संकलन भएको रकमले सुकौराको संरक्षण तथा केही संरचना बनाउने बताए । साथै त्यहाँ भएका ऐतिहासिक मन्दिरहरुको पुरातायित्वक सामग्रीहरु समेत संरक्षण गर्ने उनको भनाई छ ।हाल सुकौरामा एउटा भ्यूटावर र राजाको प्रतीमा बाहेक अन्य कुनै पनि संरचना छैनन् । जसले गर्दा पर्यटकीय हिसाबले अगाडी बढ्न सकेको छैन । यस अघि विभिन्न निकायबाट बजेट परेपनि काम हुन सकेको थिएन । चखौरामा भने देशभरका थारु समुदायको इतिहास झल्किने संग्राहलय निर्माण गरिएको छ । जुन संग्राहलयले अहिले राम्रै आम्दानी गरिरहेको छ । कुनै दिन त हजारौंले संग्राहलय अवलोकन गर्ने गर्छन् । त्यसबाट भएको आम्दानीबाट सोही संग्राहलयको बाँकीकाम पूरा गर्ने उनले बताए । “अझै ६० प्रतिशत काम बाँकी नै छ, अब हाम्रो आम्दानी हुन्छ, त्यसैबाट पूरा गर्नेछौं”,उनले भने“सुकौरालाई पनि केही रकम चखौराबाटै गर्नेछौं ।”चखौराले गएको आर्थिक वर्षमा मात्रै टिकेट विक्रीको १० प्रतिशत गर्दा २२ लाख आम्दानी दिएको समेत बताए । खासगरि चखौरा भनेको संस्कृतिलाई देखाउन मात्रै खोजेको उनले बताए । अब सुकौरालाई एतिहासिक ठाउँको रुपमा विकास गर्ने बताए ।
हाल ओझेलमा छ दंगीशरण
दंगीशरण थारुले राज गरेको ठाउँ हो– तुलसीपर ११ स्थित सुकौरा । तर, त्यो अहिले ओझेलमा छ । त्यहाँ अहिले हेर्न लाईक कुनै पनि संरचना छैनन् । प्रदेश सरकारको २५ लाख लगानीमा बनेको भ्यूटावर छ । तर, त्यो पनि भित्र हेर्दा शौचालय जस्तो छ । भ्यूटावर मात्रै होईन्, त्यहाँको हरित पार्क पनि अलपत्र छ । नाम हरित पार्क भएपनि त्यही कहिँकतै पनि हरियो देख्न सकिदैन । निर्माण भएको पार्कमा गरिएको तारवार पनि फालिएको छ । पार्कमा कहिलेकाही गाइभैसी चरणको क्षेत्र पनि बन्ने गर्छ । त्यहाँ रोपिएको दुवो मरिसकेको छ । त्यही पार्कमा दंगीशरण राजाको सालिक पनि राखिएको छ । २५ लाख लगातमा त्यहाँ पार्क र दंगीशरण राजाको प्रतिमा निर्माण भएको थियो । त्यहाँ अहिले पर्यटकको संख्या पनि शून्य नै छ । एतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर, त्यस्तो हुन नसकेको स्थानीय भिमसेन भण्डारीले बताए ।सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटदेखि सीधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किम्वदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँदेखि उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे । दंगीशरण रानीवनको साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ । उनका अनुसार दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए । हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो ।
बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो ।े मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे । राजकाज गर्ने क्रममा जनताको पिरर्मका बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारु अगुवा रामशरण चौधरीले बताए ।अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ । पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१, रहरपुरस्थित चुरै पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । १२ ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।
खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वक् पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् । बिस १९४२ मा दंगीशरण गाउँपालिका–४, बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने वेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गनरिन । तर, प्रहरी, प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किम्बदन्ती रहेको छ ।



लाइभदाङ । ७ असार २०८३, आईतवार १३:०८ बजे