मेलमिलापकर्ताले समाजमा शान्ति र सद्भाव कायम गर्न अग्रणी भूमिका खेल्नुपर्छ- उपप्रमुख तथा न्यायिक समिति संयोजक योगी

प्रिया स्मृती गजमेर
देउखुरी,६ असार ।
लमही नगरपालिकाको आर्थिक सहयोग तथा शान्तिका लागि सहकार्य संस्था काठमाडौं नेपालको आयोजनामा सञ्चालन भएको ८ दिने सामुदायिक मेलमिलापकर्ता तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै लमही नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक लक्ष्मी योगीले तालिम प्राप्त मेलमिलापकर्ताहरूले समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै गाउँटोलमा उत्पन्न हुने सामान्य विवादलाई अदालतसम्म पुग्न नदिई स्थानीय स्तरमै समाधान गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । “तपाईंहरू अब सामान्य नागरिक जस्तो मात्र रहनु हुँदैन । मेलमिलापकर्ताको रूपमा तपाईंहरूको जिम्मेवारी अझ बढेको छ । समाजमा हुने सानाठूला विवादलाई निष्पक्ष ढंगले समाधान गर्दै समुदायमा विश्वासको वातावरण निर्माण गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो ।

उपप्रमुख योगीले मेलमिलाप संस्कृति लोकतान्त्रिक समाजको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै संवाद, सहमति र समझदारीमार्फत विवाद समाधान गर्ने अभ्यासले समाजमा दीर्घकालीन शान्ति स्थापना गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले तालिममा सिकाइएका विषयलाई व्यवहारमा प्रयोग गर्दै समुदायमा न्याय, समानता र सद्भाव प्रवर्द्धन गर्न आग्रह गर्नुभयो ।

“स्थानीय तहमा आउने धेरै विवाद आपसी छलफल र सहमतिबाट समाधान गर्न सकिन्छ । त्यसका लागि प्रशिक्षित मेलमिलापकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । तपाईंहरूले निष्पक्षता, इमान्दारिता र धैर्यताका साथ काम गर्नुभयो भने समुदायले पनि न्यायिक प्रक्रियामाथि विश्वास गर्नेछ,” उहाँले थप्नुभयो ।

कार्यक्रममा शान्तिका लागि सहकार्य संस्था काठमाडौं नेपालका प्रशिक्षक किशोर अधिकारीले आठ दिनसम्म सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई विवाद व्यवस्थापन, संवाद कला, मध्यस्थता प्रक्रिया, कानूनी आधारभूत ज्ञान तथा मेलमिलापका व्यावहारिक पक्षबारे दक्ष बनाएको बताउनुभयो ।

उहाँले समुदायमा बढ्दो सामाजिक जटिलता, पारिवारिक कलह, जग्गा विवाद, लेनदेनका समस्या तथा अन्य सामाजिक विवादलाई सहज रूपमा समाधान गर्न मेलमिलाप प्रक्रिया प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो । “मेलमिलाप भनेको कसैलाई जिताउने वा हराउने प्रक्रिया होइन, दुवै पक्षलाई स्वीकार्य हुने समाधान खोज्ने प्रक्रिया हो,” उहाँले भन्नुभयो ।


प्रशिक्षक अधिकारीले तालिममा सहभागीहरूले देखाएको सक्रियता र सिक्ने उत्साह प्रशंसनीय रहेको बताउँदै अब प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहमा मेलमिलाप प्रणालीलाई अझ प्रभावकारी बनाउन प्रशिक्षित जनशक्तिको आवश्यकता रहेको समेत औंल्याउनुभयो ।

सहभागी मेलमिलापकर्ता विष्णु कुमारी शर्माले तालिमले आफूहरूलाई विवाद समाधानका नयाँ सीप र दृष्टिकोण प्रदान गरेको बताउनुभयो । पहिले सामान्य झैँ लाग्ने धेरै विषयहरूलाई अहिले फरक ढंगले बुझ्न सकिएको उहाँको भनाइ थियो ।

“हामीले विवादको कारण पहिचान गर्ने, दुवै पक्षका कुरा धैर्यपूर्वक सुन्ने र सहमतिमा पुग्न सहजीकरण गर्ने तरिका सिकेका छौं । यो तालिमले हाम्रो आत्मविश्वास पनि बढाएको छ,” उहाँले भन्नुभयो । समाजमा हुने विभिन्न खाले विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न आफूहरू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

त्यसैगरी सहभागी श्रीराम दहितले तालिमबाट प्राप्त ज्ञान समुदायको हितमा उपयोग गर्ने बताउनुभयो। उहाँले मेलमिलापकर्ताको भूमिका केवल विवाद समाधानमा सीमित नभई समाजमा सद्भाव, सहिष्णुता र आपसी विश्वासको वातावरण निर्माण गर्नु पनि रहेको उल्लेख गर्नुभयो ।

“हामीले सिकेका कुरालाई व्यवहारमा लागू गरेर गाउँटोलमा हुने अनावश्यक झगडा र मनमुटाव कम गर्न प्रयास गर्नेछौं । समाजमा शान्ति स्थापना र सामाजिक सम्बन्ध सुदृढ बनाउन मेलमिलाप प्रक्रिया प्रभावकारी माध्यम बन्न सक्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रमका वक्ताहरूले स्थानीय तहमा न्यायमा सहज पहुँच विस्तार गर्न र समुदायमा शान्तिपूर्ण सहअस्तित्व कायम गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहनेमा जोड दिएका थिए । तालिममा नगर क्षेत्रका २७ जना महिला तथा पुरुषको सहभागिता रहेको थियो । प्रशिक्षकमा अधिवक्ता रमिला कुमारी हुमागाईं र अधिवक्ता किशोर अधिकारी रहनु भएको थियो । न्यायिक समिति सदस्य केशबराज अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पत्रकार प्रिया स्मृती गजमेरले गर्नुभएको थियो ।