सीप र सिर्जनशीलतालाई समाज सेवासँग जोड्नुपर्छ : अध्यक्ष विष्ट

भालुवाङ, १३ भदौ ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले युवाको सीप, क्षमता र सिर्जनशीलतालाई समाज सेवासँग जोड्नुपर्ने बताउनु भएको छ।

आशाका किरण संस्थाको पाँचौँ वार्षिक साधारणसभाको शनिबार राप्ती गाउँपालिका–१, भालुवाङमा उद्घाटन गर्दै अध्यक्ष विष्टले समाज परिवर्तन र सेवामूलक कार्यलाई प्रभावकारी बनाउन सीप तथा सिर्जनशीलताको उपयोग आवश्यक रहेको बताउनु भएको हो।

अध्यक्ष विष्टले समाज सेवा आर्थिक सहयोगमा मात्र सीमित नभई मानिसको जीवनमा उपयोगी र दीर्घकालीन परिवर्तन ल्याउन सक्नु नै वास्तविक समाज सेवा भएको बताउनुभयो।

“सेवालाई आर्थिक सहयोगसँग मात्र जोड्नु हुँदैन। कसैको जीवनमा उपयोगी बन्न सक्नु र आवश्यक परेको समयमा साथ दिन सक्नु नै महत्वपूर्ण कुरा हो,” उहाँले भन्नुभयो।

आशाका किरण संस्था परिणाममुखी ढंगले अघि बढिरहेको उल्लेख गर्दै उहाँले संस्थाले आगामी दिनमा सेवाको दायरा थप फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो। स्थानीय सरकार, सामाजिक संस्था र समुदायबीचको सहकार्यबाट मात्रै दिगो सामाजिक परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो।

युवाको सीप र सिर्जनशीलतालाई सही क्षेत्रमा परिचालन गर्न सके समाज विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै अध्यक्ष विष्टले युवालाई अवसर र जिम्मेवारी दिएर सामाजिक अभियानमा जोड्नुपर्ने बताउनुभयो।

उहाँले स्थानीय सरकार र आशाका किरण संस्थाबीचको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा भएको साधारणसभामा महासचिव लोकमणी भुसालले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ममता गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाको गतिविधि र सामाजिक योगदान समेटिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।

संस्थाकी सदस्य सिर्जना खड्काको स्वागत मन्तव्य तथा सदस्य सोनिया रोका मगरको स्वागत गीतबाट सुरू भएको स्वागत मन्तव्यबाट सुरू भएको सभा उद्घाटन समारोहमा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, संस्थाका वरिष्ठ सल्लाहकार तथा उद्योगपति जगतप्रसाद पोख्रेल, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बसन्त गिरी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी, रोटरी क्लब अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, सल्लाहकार दिलिप भुसाल, समाजसेवी महेश बेल्वासे तथा नवप्रवेशी सदस्य बासुदेव खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सभामा विभिन्न वक्ताले शिक्षा, स्वास्थ्य, सीप विकास, महिला तथा युवा सशक्तीकरण र विपन्न समुदायको सहयोगलगायतका क्षेत्रमा संस्थाले भूमिका थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।

साधारणसभाका अवसरमा संस्थाका संस्थापक अध्यक्ष सूर्यकिरण केसी, उहाँकी आमा पुण्यवती केसी, सल्लाहकार भानुभक्त पन्त तथा उहाँकी आमा र सल्लाहकार दिलिप भुसाललाई सम्मान गरिएको थियो।

त्यस्तै प्रेस संयोजक ओमप्रकाश गुप्ता र सचिव पवित्रा विश्वकर्मालाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा नयाँ सदस्यहरू रामु सुनाम, अस्मिता विश्वकर्मा, बासुदेव खनाल र दिपक शर्मालाई टीका लगाएर संस्थामा स्वागत गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सामाजिक क्षेत्रका व्यक्तित्व, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो।