कतार पठाएको भनिएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमै

काठमाण्डौ, १३ बैशाख ।  कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो । यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती नगएका हुन् । हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत रहेको वन मन्त्रालयले जनाएको छ ।


यसैबीच कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ती हात्ती अहिले निकुञ्जभित्र पहिले राखिएको ठाउँमै रहेका छन् । कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहने उहाँले स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका नभएको पनि उहाँले जानकारी दिनुभयो ।