दाङ, २४ भदौ ।
आगामी निर्वाचनमा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्ने लहर चलिरहेका बेला युवा इन्जिनियर विशाल अधिकारीले दाङको क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत अधिकारीले आफू निर्वाचनमा उठ्ने बताएका हुन्।
‘समुन्नत समाजका लागि नयाँ सोच र विकासको मोडलबारे जानकारी भएकाहरूले नेतृत्व गर्नुपर्छ भन्ने आम आवाज छ। दिगो र भरपर्दो विकासका लागि योगदान गर्ने दृढ इच्छाका साथ मैले लुम्बिनी प्रदेश दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको छु’ अधिकारीले भनेका छन्।
उनले कृषियोग्य भूमिमा भएका अव्यवस्थित औद्योगिकिकरण नियन्त्रण, वायु प्रदुषण र मानव स्वास्थ्यलाई ख्याल गर्नेगरी दिगो विकास, साथसाथै, सडक पूर्वाधारमा देखिएको समस्या समाधानको प्रष्ट खाकासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।
‘दाङ विकास मोडेल’ देशभर फैलाउने र यसका लागि संघीय संसदमार्फत नीतिगत तहमै प्रभाव पार्ने दृढ इच्छाशक्ति रहेको अधिकारीले जनाएका छन्।
लाइभदाङ । २४ भाद्र २०७९, शुक्रबार ११:२८ बजे