
तुलसीपुर, ३१ जेठ ।
दाङको तुलसीपुरमा सञ्चालित हिमाल एकाडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा बोल्दै शिक्षक–अभिभावक सङ्घका अध्यक्ष श्रमलाल चौधरीले विद्यार्थीहरूको सुनौलो भविष्यका निम्ति विद्यालयले किताबी ज्ञानका अलावा व्यावहारिक, नैतिक तथा सीपमा आधारित शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको बताए। उनले पढाइसँगै अनुशासन, सिर्जनशील सोच र आफ्ना क्षमताहरू सुधार्नतर्फ विद्यार्थीहरूले ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिए।
यसैगरी, विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले संस्थाको शैक्षिक इतिहास, पुराना उपलब्धिहरू, भौतिक संरचना, आधुनिक शिक्षण विधि, अतिरिक्त क्रियाकलाप र शैक्षिक स्तरबारे स्पष्ट पारे। विद्यार्थीहरूलाई निश्चित लक्ष्य राखेर निरन्तर रूपमा मिहिनेत गर्न आग्रह गर्दै उनले विद्यालयले जुनसुकै क्षेत्रमा पनि आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाए।
सो क्रममा विद्यार्थीहरूलाई पढाइ हुने तरिका, परीक्षाको मूल्याङ्कन परिपाटी, अनुशासनका नियमहरू, पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधिको उपयोग एवं विभिन्न क्लबका गतिविधिहरूबारे समेत अवगत गराइएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, कविता, गजल गायन तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए।
सञ्चालक समितिका सदस्य बलदेव शर्माको अध्यक्षता र शिक्षक–अभिभावक सङ्घका अध्यक्ष श्रमलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रमको सहजीकरण शिक्षक भीमलाल मरासिनीले गरेका थिए।



लाइभदाङ । ३१ जेष्ठ २०८३, आईतवार २०:१९ बजे