शारीरिक वृद्धि विकास नहुँदासम्म विवाह गर्न हुँदैन: नगर उपप्रमुख योगी

प्रिया स्मृती गजमेर
 लमही, २५ बैशाख ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिला पुरुष दुबैले शारीरिक वृद्धि विकास नहुँदासम्म विवाह गर्न नहुने बताउनु भयो । उमेर नपुगि विवाह गर्दा शारीरिक र मानसिक रुपमा बोझ हुने भन्दै उमेर पुगेपछि मात्र विवाह गर्नु पर्ने कुरामा जोड दिनु भयो । परिपक्क भएर मात्र विवाह गर्नु पर्छ अनि मात्र आमा र बच्चा स्वस्थ रहन्छ, यो कुरालाई मस्तिष्कमा राखेर मात्र अगाडी बढ्यो भने सफल भइन्छ’- उहाँले भन्नु भयो ।

सानै उमेरमा विवाह गरेर पछि पछुताउनु भन्दा पहिले आफ्नो क्यारिएरका बारेमा सोच्ने, सीपमुलक काम सिक्ने र बल्ल विवाहका लागि योग्य मान्छेको खोजीमा हुनु पर्छ’- नगर उपप्रमुख योगीले भन्नु भयो । अर्काको लहलहैमा लागेर आफूखुशी विवाह गर्ने चलन हाम्रो समाजमा बढ्दै गएकोले यो चलनलाई रोक्नु सबैको दायित्व भएको उहाँको भनाई छ । 


लमही नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको बालविवाह न्यूनीकरण सम्बन्धि कार्यक्रममा नगर उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो । कलिलै उमेरमा विवाह गर्दा पारिवारिक बोझ खेप्नु परेको छ, एक अर्कालाई बुझ्न सक्ने नहुँदा थुप्रै प्रकारका हिँसाका घटना घट्ने गरेका छन्, यस कारण पनि हाम्रो समाज हिँसा मुक्त हुन् सकेको छैन’- नगर उपप्रमुख योगीले भन्नु भयो ।
त्यस्तै सुर्यविनायक माध्यामिक विद्यालय नर्तीका प्रधानाध्यापक राम बहादुर केसीले बालविवाह न्यूनीकरणका लागि विद्यालयहरुमै पठनपाठन हुनु पर्ने बताउनु भयो । विद्यालयमै बालविवाह गर्दाका बेफ़ाइदाहरुका बारेमा सिक्ने मौका पाए भने बालविवाह न्यूनीकरणमा सहज हुने उहाँको भनाई छ ।

नगरपालिका भित्र रहेका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत छात्र तथा छात्राहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिने हेतुले यो तालिमको आयोजना गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मेनका खड्काले जानकारी दिनु भयो ।

कक्षा ११ र १२ मा अध्ययनरत ६ वटा सामुदायिक विद्यालयका करिब ३ सय विद्यार्थीलाई बालविवाह न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिईने छ । यो कार्यक्रमको प्रशिक्षकमा साजिदा सिद्दिकी रहनु भएको छ । सुर्यविनायक माध्यामिक विद्यालय नर्ती, राप्ती माध्यामिक विद्यालय उच्चानिम्बु, बाल जनता माध्यामिक विद्यालय वनगाउँ, खीम बहादुर शाह माध्यामिक विद्यालय कोलही, आदर्श नमूना माध्यामिक विद्यालय देउपुर र बगारबाबा माध्यामिक विद्यालयमा यो कार्यक्रम संचालन हुनेछ ।