
आलोक भावुक
गढवा, १४ भदौ।
दाङको गढवा बजारमा ‘जलजला पूजा सामग्री पसल’ सञ्चालनमा आएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ स्थित गढवा बजारमा ज्योति विकास बैंक नजिकै सञ्चालनमा आएको उक्त पसलको आइतबार उद्घाटन गरिएको हो।
गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले रिबन काट्नुका साथै दीप प्रज्वलन गरेर पसलको उद्घाटन गर्नुभएको हो। गढवालाई विशेषगरी राप्ती दक्षिण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर प्रोप्राइटर कमल अधिकारीले पूजा सामग्री पसल सञ्चालनमा ल्याउनुभएको हो। गढवा गाउँपालिकाको मुख्य व्यापारिक क्षेत्र गढवा बजारमा ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकारका पूजा तथा शुभकार्यमा आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको सञ्चालक अधिकारीले बताउनुभयो।
पसलमा विभिन्न प्रकारका पूजा सामग्री, दुबोका माला, दुना टपरी लगायत पूजा आजा, व्रतबन्ध, जन्माष्टमी तथा अन्य शुभकार्यमा आवश्यक सम्पूर्ण सामग्री सुपथ मूल्यमा उपलब्ध हुने सञ्चालक अधिकारीले जानकारी दिनुभयो।
पसल उद्घाटनका क्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले स्थानीय बजारमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताउँदै व्यवसायको सफलताको शुभकामना दिनुभयो। उहाँले स्थानीयस्तरमा आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने व्यवसायले उपभोक्तालाई समेत सुविधा पुग्ने धारणा व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा समाजका भद्रभलाद्मी, बुद्धिजीवी, पत्रकार तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो।



लाइभदाङ । १४ भाद्र २०८३, आईतवार २२:०४ बजे