राप्ती प्रतिष्ठानको नबौ बार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान

घोराही, ०६ असोज ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रम प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्साल तथा अस्पताल निर्देशक सहप्रा.डा. सुरेश रसाइलीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपकुलपति प्राडा अजयकुमार मिश्रले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय सेवाका रूपमा रहेको बताउनुभयो। उहाँले एक व्यक्तिले दान गरेको रगतले आवश्यक परेको अर्को व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा लिन आग्रह गर्नुभयो। प्रतिष्ठानको वार्षिकोत्सवलाई स्वास्थ्य सेवासँगै सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो।


उपकुलपति मिश्रले प्रतिष्ठानले उपचार सेवाका अतिरिक्त समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै यस्ता मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

एनेस्थेसिया तथा क्रीटिकल केयर विभागका प्रमुख, असिष्टेण्ट प्रोफेसर डा. राजन शाक्यको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी घोराहीको प्राविधिक सहयोग रहेको थियो।

‘तपाईंको एक थोपा रगत, कसैको जीवनमा नयाँ आशा’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी तथा उपचारका लागि अस्पताल आएका बिरामी र उनका आफन्तले रक्तदान गरेका थिए। कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनमा सहयोग पुग्नुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।