मेरो घर मात्रै होइन्, पसिना, श्रम र मेहन्त जलाईयो: डिल्लीबहादुर चौधरी

दाङ, २९ भदौ । जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनी र लुटपाट भएकोप्रति प्रतिक्रिया दिँदै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्।

उनले भने, “मेरो घर मात्र जलेको छैन, मेरो चार दशकको पसिना, श्रम र मेहन्त खरानी बनाइएको छ। एक–एक पैसा जम्मा गरेर बनाएको पारिवारिक सम्पत्ति राजनीतिक प्रतिशोधमा जलाउनु न्यायोचित होइन।”

चौधरीले आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भने, “जेनजी आन्दोलन केवल हिंसात्मक वा व्यक्ति केन्द्रीत थिएन। तर आन्दोलनको नाममा घुसपैठ गरेर निजी सम्पत्ति, सरकारी संरचना र कार्यालय लुटपाट गर्न पाइँदैन। यस्तो कुकृत्य गर्नेहरूलाई कानुनी कारबाही हुनै पर्छ।”


उनले आफ्ना संघर्षका दिनहरू स्मरण गर्दै थपे, “पञ्चायतदेखि माओवादी द्वन्द्व र मुक्तकमैया आन्दोलनसम्म मैले जीवनमा धेरै कठिनाइ बेहोरेको छु। तर अहिले त केवल घर जलेको छ, मन जलेको छैन। आँट, साहस र क्षमता अझै बाँकी छ। पुनः उठेर अघि बढ्नेछु।”

चौधरीले आफ्नो ध्यान सधैं समाजसेवा, राजनीति र विपन्न समुदायको उत्थानतर्फ नै रहने स्पष्ट गर्दै भने, “थारु समुदाय, विपन्न र पछाडि परेकाको अधिकार, शिक्षा, विकास र सामाजिक उत्थानमै मेरो जीवन समर्पित छ।”