दंगीशरणमा पक्राउ परेका ६ जुवाडे विरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दायर

दाङ, ०७ असोज ।
दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ रावतगाउँमा अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका ६ जना स्थानीयवासीविरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायधिवक्ता श्रीधर अधिकारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम उक्त अभियोगपत्र दर्ता गराएका हुन् । प्रहरीले जुवाको खालबाट रु. ७८ हजार ८ सय ६५ नगद र ५२ पत्ता तास बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरअन्तर्गत प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुजल श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले गत भदौ ३० गते राति करिब ११:१० बजे स्थानीय लामोधर चौधरीको घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।


पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका-३ रावतगाउँ बस्ने ४२ वर्षीय लमुधर चौधरी (घरधनी), ५२ वर्षीय महाबिर चौधरी, ३१ वर्षीय दिपक गिरी, ३४ वर्षीय सुसिल देवकोटा, ३६ वर्षीय सन्देश भन्ने गणेश योगी र ४७ वर्षीय हुम बहादुर भन्ने भुप बहादुर चौधरीलाई प्रतिवादी बनाइएको छ। बयानका क्रममा प्रतिवादीहरूले भदौ ३० गते तीजको पञ्चमीका दिन रमाइलो गर्न तथा मासुरखानपिनका साथ हारजित हुने गरी तास खेलेको तथ्य स्वीकार गरेका छन्। यस घटनाबारे स्थानीय देवा डाँगी र भागवत धितालले समेत घटना विवरण कागजमा पुष्टी गरेका छन्।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (१) र (२) (क) बमोजिम कसूर ठहर गरी कारबाही गर्न मागदाबी गरेको छ। साथै, घरधनी लमुधर चौधरी यसअघि पनि जुवा मुद्दामा अदालतबाट सजाय पाइसकेका व्यक्ति भएकाले उनलाई दोहोरिएको कसूर अनुसार सोही संहिताको दफा १२५ (२) (ख) बमोजिम थप कडा सजाय गर्न माग गरिएको छ।