मुनाल घिमिरेसहित एमालेका ८ जना वडाध्यक्षको पद खारेज

काठमाडौं,२७ जेठ ।
निर्वाचन आयोगले एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले आज बुधबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा एमालेको केन्द्रीय सचिवालयले आयोगलाई बुझाएको थियो।

सोही सिफारिसका आधारमा निर्वाचन आयोगको जेठ २६ गतेको निर्णयअनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको हो। रिक्त भएका सबै पद स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित वडा अध्यक्षका हुन्। पद रिक्त भएका वडा अध्यक्षहरू ओखलढुङ्गाका तीन, मोरङका दुई तथा पाल्पा, ललितपुर र दाङका एक-एक जना रहेका छन्।

यस्तो छ विवरण:
१.कमल बहादुर बानिया-वडा अध्यक्ष, मोलुङ (सूचनामा मोलुड) गाउँपालिका वडा नं. १, ओखलढुङ्गा (कोशी प्रदेश)
२.कमल तामाङ- वडा अध्यक्ष, मोलुङ (सूचनामा मोलुड) गाउँपालिका वडा नं.६, ओखलढुङ्गा (कोशी प्रदेश)
३.शुरेश कुमार थापा- वडा अध्यक्ष, चम्पादेवी गाउँपालिका वडा नं.७, ओखलढुङ्गा (कोशी प्रदेश)
४.राज कुमार पन्थी- वडा अध्यक्ष, माथागढी गाउँपालिका वडा नं. १, पाल्पा (लुम्बिनी प्रदेश)
५.होमप्रसाद बजगाई-वडा अध्यक्ष, बागमती गाउँपालिका वडा नं.७, ललितपुर (बागमती प्रदेश)
६.राम कुमार श्रेष्ठ-वडा अध्यक्ष, लेटाङ नगरपालिका वडा नं.४, मोरङ (कोशी प्रदेश)
७.महेश कुमार खनाल- वडा अध्यक्ष, रंगेली नगरपालिका वडा नं.१, मोरङ (कोशी प्रदेश)
८.मधुसुदन शर्मा(मुनाल घिमिरे)-वडा अध्यक्ष, घोराही उपमहानगरपालिका वडा नं.४, दाङ (लुम्बिनी प्रदेश)


राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम सम्बन्धित सबैको जानकारीका लागि आयोगले यो सूचना जारी गरेको जनाएको छ। पद रिक्त भएसँगै अब यी वडाहरूमा वडा अध्यक्षको पद खाली हुन पुगेको छ।