सगरमाथा आरोहणको ढोका खुल्यो, ४२१ आरोही चुचुरो चुम्ने तयारीमा

काठमाडौं, २७ बैशाख ।
बिश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण यो वर्ष सूरु भएको छ । सगरमाथामा डोरी टाँग्ने कार्य सम्पन्न भएपछि वसन्त ऋतुको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । एटके एक्सपीडिसन कम्पनीका सात जना शेर्पाको टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा डोरी टाँगेर बाटो बनाएको हो।

यहि कम्पनीका पाँच जना शेर्पाले यसअघि ल्होत्से र आमादब्लम हिमालमा पनि बाटो बनाइसकेका थिए। सगरमाथाको रोप फिक्सिङ कार्य कठिन थियो किनभने बाक्लो हिउँ र चट्टानका कारण डोरी तथा भर्याङ टाँग्न समस्या भयो।

पर्यटन विभागका अनुसार मे ११ देखि १४ सम्म मौसम अनुकूल हुने अनुमान छ, जसले गर्दा यही अवधिमा सबैभन्दा बढी आरोहण हुने अपेक्षा गरिएको छ। एटकेका लाक्पा शेर्पाले सगरमाथाको तेस्रो शिविरदेखि आरोहीहरू चुचुरोतर्फ लागिसकेको जानकारी दिए।


शेर्पा टोलीका अनुसार जलवायु परिवर्तनको असरले बाटो बनाउन कठिन भएको छ । खुम्बु आइसफल क्षेत्रमा रकको संख्या बढेको छ भने हिउँ अत्यधिक परेको छ। आधार शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको थियो।

हालसम्म ४४ समूहबाट ४२१ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन्। आधार शिविर र उच्च शिविरहरूमा तयारी तीव्र छ । विश्व कीर्तिमानी कामीरिता शेर्पा ३१औं पटक सगरमाथा चढ्न तयारीमा छन् भने टासी ग्याल्जेन शेर्पाले २० दिनमा चार पटक चढेर नयाँ कीर्तिमान बनाउने लक्ष्य राखेका छन्।

गत वर्ष जस्तै यो वर्ष पनि सगरमाथा आरोहणबाट मात्रै सरकारको खातामा ६५ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ। साहसिक पर्यटन प्रवद्र्धनमा यो सन्देश सकारात्मक रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।