
प्रिया स्मृती गजमेर
देउखुरी,२६जेष्ठ ।
दाङ लमही नगरपालिका ९ कोल्तरा – सिक्टा स्थित राप्ती नदीमा पक्की पुल निर्माण हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर १ का संघीय सांसद देवराज पाठकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ । संघीय सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट विनियोजन गर्दा सरकारले उक्त योजनालाई प्राथमिकतामा राखेको हो । यी सबै आयोजनाहरु आगामी तीन वर्षमा सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको सांसद पाठकको भनाई छ ।
लमही नगरपालिका ८ को जहरेदेखि पश्चिम बाँकेको कुसुमदेखि पूर्वतर्फ पक्की पुल नहुँदा राप्ती वारिपारिका जनताले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । काम चलाउका लागि झोलुङ्गे पुल बनेका भए पनि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनका लागि निकै टाढा घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
सांसद पाठकले दिएको जानकारीअनुसार जहाँ अत्यावश्यक छ, त्यस्ता स्थानको पहिचान गरेर पुल निर्माणका लागि बजेट माग गरिएको थियो । सोहीअनुसार देउखुरीका बाह्र स्थानमा पक्की पुल र सडक निर्माण हुने भएका हुन् । यो स्थानमा पक्की पुल बन्ने भएपछि यतिबेला लमही नगरपालिका ९ र राजपुर गाउँपालिका ७ का स्थानीयहरू हर्षित बनेका छन् ।
पुल निर्माण भएपछि राप्ती वारिपारिका बासिन्दाले वर्षैभरि सहज रूपमा आवतजावत गर्न पाउने अपेक्षा गरिएको छ । अहिले वर्षायाममा नदीमा पानीको बहाव बढ्दा स्थानीयले जोखिम मोलेर डुङ्गा चढ्नुपर्ने वा लामो दूरी घुमेर गन्तव्यमा पुग्नुपर्ने अवस्था रहेको छ । पक्की पुल बनेपछि उक्त बाध्यता हट्नेछ भने पैदलयात्री, विद्यार्थी, बिरामी तथा सर्वसाधारणलाई समेत ठूलो राहत पुग्ने छ ।
यसैगरी कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने स्थानीयको अपेक्षा छ । राप्ती पारिका क्षेत्रमा उत्पादन हुने धान, गहुँ, तरकारी तथा अन्य कृषि उपज ढुवानी गर्न सहज भएपछि किसानले आफ्नो उत्पादनको उचित बजार पाउनेछन् । यातायात पहुँच विस्तारसँगै व्यापार, व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
सांसद पाठकले सार्वजनिक गरेको विवरणअनुसार लमही नगरपालिका ९ कोल्तरा – सिक्टा जोड्ने राप्ती पुल, गढवा गाउँपालिका ६ मणिकापुर–कक्रहवा खोला पुल, लमहीको नर्ती -केरुनिया जोड्ने पुल, राप्ती गाउँपालिकाको पिपरी खोला पुल, मझेरिया – लट्ठहवा जोड्ने पुल, लमहीको सुनखोली – न्युरोड जोड्ने पुल, राप्तीको घोष खोला विरखे जोड्ने पुल, राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती पुल, राजपुरको सुनपथरी खोला पुल, गढवाको कोइलावासदेखि जितबहादुर सिंजाली नाका सडक निर्माण, गढवाको रङसिङ खोला पुल तथा कालाकाटेदेखि बाँके सिमानासम्म हुलाकी राजमार्गका सबै स्थानमा पुल पुलेसा र बाँकी सडक निर्माण हुने भनिएको छ ।
तर यी योजनाका लागि सरकारले कति बजेट विनियोजन गरेको छ भन्ने विषयमा भने हालसम्म यकिन जानकारी सार्वजनिक भएको छैन । स्थानीयवासीहरूले बजेट सुनिश्चित गरी योजनाहरू समयमै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । पुल निर्माण सम्पन्न भएपछि देउखुरी क्षेत्रको यातायात, कृषि, व्यापार तथा जनजीवनमा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ ।



लाइभदाङ । २६ जेष्ठ २०८३, मंगलवार १२:५६ बजे