
दाङ,२४ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी दाङको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापतिमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अपनाइएको थियो। सभापति पदका चार जना उम्मेदवारमध्ये लमही नगरपालिका १ नर्ती निवासी ३१ वर्षीय युवा नेता किरण खनाल विजयी हुनुभएको छ । खनालले १९६ मत प्राप्त गर्दै निवर्तमान सभापति विनय कुमार घिमिरेलाई ७२ मतान्तरले पराजित गर्नुभयो । घिमिरेले १२४ मत प्राप्त गर्दा केदार रजौरेले ६ र किरण आचार्यले २ मत प्राप्त गर्नुभएको थियो । कलिलै उमेरमा समग्र जिल्लाको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नुभएका नवनिर्वाचित सभापति खनालले व्यवस्थापन विषयमा स्नातकोत्तर ९एमबीए० अध्ययन पूरा गर्नुभएको छ । युवा नेतृत्वको रूपमा स्थापित खनालसँग पत्रकार प्रिया स्मृती गजमेरले समसामयिक राजनीतिक विषय, पार्टी संगठन तथा भावी योजनाबारे कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, उक्त कुराकानीः
सर्वप्रथम राष्ट्रिय स्वतन्त्र पार्टी दाङको सभापतिमा निर्वाचित हुनुभएकोमा बधाई ।
अब तपाईंको नेतृत्वमा पार्टी संगठन निर्माणको दिशा कस्तो हुनेछ?
धन्यवाद । पार्टी संगठन निर्माण हाम्रो पहिलो प्राथमिकता हो । हामीले संगठनलाई चुनाव केन्द्रित संरचनाका रूपमा होइन, जनताको समस्या बुझ्ने र समाधानका लागि सक्रिय रहने माध्यमका रूपमा विकास गर्न चाहेका छौं । दाङका सबै पालिका, वडा र टोल तहसम्म संगठन विस्तार गर्ने योजना बनाएका छौं । युवा, महिला, किसान, मजदुर, व्यवसायी र विभिन्न समुदायलाई पार्टीसँग जोड्दै समावेशी संगठन निर्माणमा जोड दिनेछौं । संगठन बलियो भए मात्रै पार्टीका नीति र एजेण्डा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
तपाईंले पार्टीका मुख्य एजेण्डा कार्यान्वयनको कुरा गर्नुभयो । दाङमा ती एजेण्डालाई कसरी व्यवहारमा उतार्ने योजना छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीको मूल एजेण्डा सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिक केन्द्रित राजनीति हो । हामीले पहिलो चरणमा स्थानीय तहका सार्वजनिक सेवामा पारदर्शिता बढाउन जनचेतना अभियान सञ्चालन गर्ने योजना बनाएका छौं । सरकारी सेवा प्राप्त गर्न नागरिकले भोग्नुपर्ने झन्झट, ढिलासुस्ती र भ्रष्टाचारविरुद्ध आवाज उठाई रहेकाछौं । स्थानीय विकास योजनाको निगरानी, सार्वजनिक खर्चको पारदर्शिता र जनप्रतिनिधिहरूको जवाफदेहितालाई संस्थागत गर्न पहल गर्ने छौं । पार्टीको उद्देश्य आलोचना गर्ने होइन, समाधानमुखी राजनीति गर्ने हो ।
जनताले चाहेको नेपाल निर्माण गर्ने कुरा धेरै राजनीतिक दलले गर्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिमा त्यो नेपाल कस्तो हो ?
हाम्रो दृष्टिमा जनताले चाहेको नेपाल भनेको अवसरको समान पहुँच भएको, सुशासन कायम भएको, रोजगारी सिर्जना भएको र राज्यप्रति नागरिकको विश्वास बढेको नेपाल हो । आज धेरै युवाहरू विदेशिन बाध्य छन्, किसानले उचित मूल्य पाउँदैनन्, साना व्यवसायी संघर्षमा छन् । यस्तो अवस्था परिवर्तन गर्न नीति र कार्यशैली दुवैमा परिवर्तन आवश्यक छ । हामी राज्यका स्रोत साधनको सदुपयोग गर्दै स्थानीय अर्थतन्त्र बलियो बनाउन, शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार गर्न र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्नुपर्ने आवश्यकता देख्छौं । जनताको अपेक्षा पूरा गर्ने राजनीति नै हाम्रो लक्ष्य हो ।
दाङमा अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई फरक रूपमा स्थापित गर्न तपाईंको रणनीति के हुनेछ ?
हाम्रो रणनीति नारा भन्दा काममा आधारित हुनेछ । जनतासँग नियमित संवाद, समस्या पहिचान र समाधानका लागि सक्रिय हस्तक्षेपलाई प्राथमिकता दिनेछौं । सामाजिक सञ्जालमा मात्रै होइन, गाउँ टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने अभियान चलाइनेछ । पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शी निर्णय प्रक्रिया र योग्यताको आधारमा जिम्मेवारी वितरण गर्ने संस्कृतिलाई बलियो बनाइनेछ । हामीले विश्वास जित्नुपर्छ, त्यो व्यवहार र कार्यसम्पादनबाट सम्भव हुन्छ ।
आगामी दिनमा दाङका नागरिकलाई तपाईंको सन्देश के छ ?
म सम्पूर्ण दाङवासीप्रति आभार व्यक्त गर्न चाहन्छु । परिवर्तनको अपेक्षा गर्ने नागरिकको आशा र भरोसालाई सम्मान गर्दै जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पार्टीलाई बलियो बनाउन मात्र होइन, दाङको समग्र विकासका लागि पनि सबैको साथ आवश्यक छ । फरक विचार भए पनि विकास, सुशासन र नागरिक हितका विषयमा सबैसँग सहकार्य गर्न तयार छौं । राजनीति विभाजनको माध्यम होइन, साझा भविष्य निर्माणको माध्यम बन्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।
अन्त्यमा, तपाईं व्यक्तिगत रूपमा दाङको भविष्यलाई कसरी हेर्नुहुन्छ ?
दाङ सम्भावनाले भरिएको जिल्ला हो । कृषि, पर्यटन, शिक्षा र उद्यमशीलताका क्षेत्रमा ठूलो अवसर छ । यदि सुशासन कायम गर्न सकियो, योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरियो र युवाको ऊर्जा सही दिशामा प्रयोग गरियो भने दाङ प्रदेशकै अग्रणी जिल्लामध्ये एक बन्न सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङले यही सम्भावनालाई यथार्थमा बदल्ने दिशामा काम गर्नेछ ।



लाइभदाङ । २४ जेष्ठ २०८३, आईतवार १७:४५ बजे