
दाङ,२३ जेठ ।
दाङ घोराहीको गुरुकुल एकेडेमीमा अध्ययणरत छात्रा प्रतिभाशाली धाविका गरिमा चौधरीले १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्णसहित चार पदक जित्न सफल भएकी छन् । काठमाडौंस्थित दशरथ रंगशाला मा जेठ २० गतेदेखि २३ गतेसम्म सञ्चालन भएको राष्ट्रियस्तरको प्रतियोगितामा उनले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै उल्लेखनीय सफलता हासिल गरेकी हुन् ।
घोराही उपमहानगरपालिका–१७ निवासी चौधरी हाल गुरुकुल एकेडेमी मा अध्ययनरत छिन् । प्रतियोगिताको छात्रातर्फ १०० मिटर र २०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै उनले स्वर्ण पदक जितेकी हुन् । तीव्र गति र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण उनले दुवै विधामा प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान सुरक्षित गर्न सफल भइन् ।
त्यसैगरी, ४×१०० मिटर रिले दौडमा उनले रजत पदक जितिन् भने लङ जम्प प्रतियोगितामा कांस्य पदक हासिल गर्दै कुल चार पदक आफ्नो नाममा दर्ज गरिन् । राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगितामा एउटै खेलाडीले चार पदक जित्नु आफैंमा महत्वपूर्ण उपलब्धि मानिएको छ ।
गरिमालाई गुरुकुल एकेडेमी ले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ । अध्ययनसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा समेत सक्रिय रहेकी गरिमाले विद्यालयस्तरदेखि नै विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दै आएकी थिइन् । विद्यालयले उनको प्रतिभालाई पहिचान गर्दै आवश्यक प्रशिक्षण, हौसला र अवसर प्रदान गरेको थियो ।
विद्यालयका शिक्षक तथा खेल प्रशिक्षकहरूका अनुसार गरिमा सुरुवातदेखि नै मेहनती, अनुशासित र लगनशील विद्यार्थीका रूपमा परिचित थिइन् । नियमित अभ्यास, आत्मविश्वास र विद्यालयको सहयोगकै कारण उनले राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकेको बताइएको छ ।
गरिमाको यस सफलताले दाङ जिल्लासहित समग्र लुम्बिनी प्रदेशको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ । स्थानीय तह, विद्यालय, खेलप्रेमी तथा अभिभावकहरूले उनको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालय तहको सबैभन्दा प्रतिष्ठित राष्ट्रिय खेल प्रतियोगितामध्ये एक मानिन्छ । यस्ता प्रतियोगिताले ग्रामीण तथा मोफसलका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने गरेको छ । गरिमा चौधरीको उपलब्धिले दाङमा खेलकुद क्षेत्रको सम्भावना अझ उजागर गरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ ।



लाइभदाङ । २३ जेष्ठ २०८३, शनिबार २१:२५ बजे