
भालुबाङ,२२ जेठ।
दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ बजार क्षेत्रमा शुक्रबार मासु पसलहरूको अनुगमन गरिएको छ।
राप्ती गाउँपालिकाको अनुगमन टोली,इलाका प्रहरी कार्यालय भालुबाङ र लुम्बिनी प्रदेश सरकारका कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रतिनिधि सहभागी अनुगमन टोलीले भालुबाङ बजार क्षेत्रमा रहेका ११ वटा मासु पसलहरूको संयुक्त रूपमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा केही पसलमा मानव स्वास्थ्यका लागि अस्वस्थ्यकर अवस्थामा राखिएको मासु फेला परेको अनुगमन टोलीले जनाएको छ।
टोलीले कुखुरा र खसीबोकाको गरि करिब ३१ केजी अस्वस्थ्यकर मासु जफत गरेको हो। जफत गरिएको उक्त मासु जनप्रतिनिधि, कर्मचारी तथा प्रहरीको रोहवरमा खाल्डोमा पुरी नष्ट गरिएको छ।
भालुबाङ बजार क्षेत्रमा गरिएको उक्त अनुगमनपछि मासु व्यवसायलाई मापदण्डअनुसार सञ्चालन गर्न र सरसफाइमा विशेष ध्यान दिन व्यवसायीहरूलाई निर्देशन दिइएको छ।
स्थानीय तहले उपभोक्ता स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमन नियमित रूपमा जारी राख्ने जनाएको छ।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार १९:३९ बजे