छुट दिदा पनि तिर्दैनन् कर 

अन्जना बिश्वकर्मा 
दाङ, २१ फाल्गुन ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा आयकरमा दर्ता भएका करदाता ४२ हजार एक तीनसय २ छन्, भने मुल्य अभिवृद्धि करका करदाता ५ हजार एकसय ७४ छन् । ति मध्ये अहिलेसम्म आयकर अन्तर्गतका  २१ हजार तीनसय ३४ र मुल्य अभिवृद्धि कर तर्फका एक हजार चारसय ९७ करदाताले कर तथा विवरण  बुझाएका छैनन् ।

पटक–पटक छुटको अफर आउँदा पनि कर तिर्न नआउने गरेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डनले बताए । उनका अनुसार फागुन मसान्तसम्म शूल्क, ब्याज र जरिवाना छुट गरिएको छ । आयकर ऐन, बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजश्व कार्यालयमा आय विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको छ । तर, यो समयभित्र विवरण पेश नगरेका करदाताहरुलाई सहुलियत दिने गरी नेपाल सरकारले आर्थिक ऐन, २०८१ ल्याएपनि करदाता नआएको प्रमुख टन्डनको भनाई छ ।

उनका अनुसार कर तिर्न प्रोत्साहन गर्नकालागि जिल्लाका विभिन्न स्थानमा करदाता शिक्षा समेत प्रदान गरिएको छ । जिल्लाको तुलसीपुर, घोराही,लमही, भालुवाङ, गढवा, नारायणपुर, हापुरेलगायतका स्थानमा करदाता शिक्षा र अन्तरक्रिया गरिएको छ । कर नतिरेका करदाताहरुलाई फोन सम्पर्क तथा म्यासेज समेत पठाईएको प्रमुख टण्डनको भनाई छ ।

स्थायी लेखा प्रमाणपत्र लिएका तर समयमै आय विवरण पेश तथा आयकर दाखिला नगर्ने करदाताहरूको संख्या घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै ७ हजार ३२५ रहेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ६ हजार ४९२, लमही नगरपालिकामा २ हजार ९, राजपुर र राप्ती गाउँपालिकामा जनही १ हजार १३९ रहेको छ । यस्तै गढवा गाउँपालिकामा १ हजार १३५, शान्तिनगर गाउँपालिकामा ५५६, दंगीशरण गाउँपालिकामा ३७३, बंगलाचुली गाउँपालिकामा २५१ र बबई गाउँपालिकामा १७ रहेको छ । यस्तै रोल्पाको रुन्टिगढी, त्रिवेणी र गंगादेव गाउँपालिकामा गरी ८९८ रहेको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका तर समयमै आय विवरण पेश नगर्ने र आयकर नबुझाउने करदाताको संख्या पनि सबैभन्दा धेरै ६३५ घोराही उपमहानगरपालिकामा रहेको छ ।


यस्तै तुलसीपुर उपमहानगरपालिकामा ४२७, लमही नगरपालिकामा २०१, गढवा गाउँपालिकामा ६९, राप्ती गाउँपालिकामा ५४, शान्तिनगर गाउँपालिकामा २५, बंलाचुली गाउँपालिकामा २४, राजपुर गाउँपालिकामा १७, बबई गाउँपालिकामा १६ र दंगीशरण गाउँपालिकामा ६ रहेको छ भने रोल्पाको रुन्टिगढी, त्रिवेणी र गंगादेव गाउँपालिकामा २२ रहेको छ ।

आन्तरिक राजस्व कार्यालय दाङको कार्यक्षेत्र दाङसहित रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र प्युठान जिल्ला रहेको छ । सल्यानमा करदाता सेवा कार्यालय समेत रहेको छ । जसले रुकुम पूर्वी भाग र रुकुम पश्चिममा सेवा प्रदान गर्दै आएको छ । त्यस्तै चकचकेमा रहेको करदाता सेवा कार्यालयले प्युठान जिल्लामा सेवा प्रवाह गरिरहेको छ ।

तुलसीपुर कार्यालयमार्फत दाङका १० स्थानीय तह र रोल्पाका तीन स्थानीय तहमा सेवा प्रवाह गर्दै आएको छ ।

साढे एक अर्ब राजश्व संकलन
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको ७ महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष राजश्व संकलन भने बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २५ करोड ८२ लाख ८१ हजार बढी अर्थात २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको प्रमुख टन्डनले बताए ।

चालु वर्षको माघ मसान्तसम्म लक्ष्यको ८२ दशमलव ५० प्रतिशत राजस्व संकलन गरिएको उनको भनाई छ ।  कार्यालयले चालु आर्थिक वर्षमा १ अर्ब ७२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि करदाताले समयमा कर दाखिला नगर्दा समस्या भएको हो । साभारः अग्रिम साप्ताहिक