
तुलसीपुर,२२ जेठ ।
तुलसीपुर उपमहानगर–पालिका वडा नं. १२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजो–आज गलैचा बुन्न ब्यस्त छिन् । उनले गलैचा बुनेर घर खर्च चलाउने योजनामा छन् ।“पहिले भाडा माझ्ने, बस्तु–भाउलाई घाँस दिने मात्रै काम हुन्थ्यो”,उनले भनिन् “तर,अहिले गलैचा बुन्न थालेकी छु, अब घर खर्च चलाउन सजिलो हुनेछ ।” त्यस्तै सोही ठाउँकी मनकला बुढा मगर पनि गलैचा बुन्नकालागि तान मिलाउँदै थिईन् । विगतमा गलैचा हातले बुन्छन्, भन्ने समेत थाहा थिएन । तर, अहिले आफैले हातले गलैचा बुन्न थालेकि छिन् । “पहिला हातले गलैचा बुन्छन्, भन्ने पनि थाहा थिएन”,मगरले भनिन्“तर, अहिले आफैले बुन्न थालेका छौं।” उनले पनि छोराछोरीलाई विद्यालय पठाउने र त्यसपछि त्यतिकै घरमै टिकटक चलाएर बस्नु पर्ने अबस्था थियो । अहिले गचैला बुन्न ब्यस्त हुन थालेका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङले ६५ दिने तालिम प्रदान गरेपछि उनीहरु अहिले यसरी गलैचा बुन्नमा ब्यस्त छन् ।
महिलाहरुलाई आम्दानीमा जोड्नकालागि यसरी तालिम प्रदान गरेपछि महिलाहरु यसरी आफै गचैला बुन्न थालेका हुन् । आफूहरुले बुनेका गलैचाको पनि बजारीकरण कसरी गर्ने भन्ने चिन्ता छैन । “गलैचा बुनेपछि सबै काठमाडौंको उद्योगमा लगेर बिक्री गरिदिनुहुन्छ रे”,सोही ठाउँकी दिपा बाँठा मगरले भनिन्“ त्यसैले पनि हामीलाई गलैचा बुन्न हौसला मिलेको छ ।”सोही ठाउँका २० जनालाई गलैचा बुन्ने तालिम प्रदान गरिएको थियो । उनीहरु सबैलाई गलैचा बुन्नकालागि मेसिन पनि प्रदान गरेपछि अहिले आफैले यसरी गलैचा बुन्न थालेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले बताए । “हामीले तालिम प्रदान गरेर मेसिन पनि उपलब्ध गराएका छौं, उनीहरुले उत्पादन गरेका गलैचा पनि बेच्नकालागि ब्यबस्था मिलाएका छौं”,उनले भने “यसले उनीहरुको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौं ।” काठमाडौंबाट मनोज कुमार श्रेष्ठ र सरस्वति तामाङले तालिम प्रदान गरेका हुन् ।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार ०६:०४ बजे