लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ ।

दाङ,२० जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ झुमरे क्षेत्रबाट प्रहरीले ब्राउन सुगरजस्तो लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट १० ग्राम १९० मिलिग्राम लागूऔषध तथा मोबाइल फोन र नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङबाट खटिएको प्रहरी टोलीले लागूऔषध नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत सोमबार राति करिब ९ः४५ बजे विशेष सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार झुमरे क्षेत्रमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचना प्राप्त भएपछि सम्बन्धित घरकोठामा खानतलासी गरिएको थियो। सो क्रममा चार जनालाई शंकास्पद अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी २५ वर्षीय पबित्र डाँगी, सोही स्थानका २६ वर्षीय गोबिन्द बुढा मगर, तुलसीपुर–७ निवासी ३० वर्षीय कमल केसी तथा २७ वर्षीय रिगल महतरा क्षेत्री रहेका छन्।

खानतलासीका क्रममा उनीहरूको साथबाट १० ग्राम १९० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, लागूऔषध ओसारपसार तथा सम्भावित कारोबारमा प्रयोग भएको आशंकामा ८ थान मोबाइल फोन र ३ हजार ८४५ रुपैयाँ नगद पनि बरामद गरिएको छ।


पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। बरामद पदार्थको परीक्षण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पछिल्लो समय जिल्लामा लागूऔषध कारोबार तथा दुव्र्यसन नियन्त्रणका लागि निगरानी, चेकजाँच र विशेष अभियानलाई तीव्र बनाइएको जनाएको छ। लागूऔषध कारोबार समाज र युवापुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि कानुनी कारबाहीलाई निरन्तरता दिइने बताएको छ।

साथै, लागूऔषधसँग सम्बन्धित कुनै सूचना वा शंकास्पद गतिविधि देखिए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ।