सगरमाथा स्कुलमा विश्व बुवाआमा दिवस:सम्मान, कर्तव्यबोध र पारिवारिक आत्मीयतामा जोड

तुलसीपुर,१८ जेठ ।
तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सगरमाथा स्कुलमा १४औँ विश्व बुवाआमा दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बुवाआमाप्रति सम्मान, आदर र कृतज्ञता व्यक्त गर्दै अभिभावक तथा विद्यार्थीहरूले परिवारलाई समय दिने सामूहिक प्रतिबद्धता जनाएका छन्।

सगरमाथा क्वालिटी सर्कलका अध्यक्ष मिसन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बुवाआमाको माया, त्याग, संघर्ष र योगदानको सम्मान गर्दै आफ्ना कर्तव्यप्रति सचेत रहने तथा अनुशासित र जिम्मेवार बन्ने अठोट व्यक्त गरेका थिए।

त्यसैगरी, अभिभावकहरूले छोराछोरीलाई केवल भौतिक सुविधा मात्र नभई पर्याप्त समय, माया र मार्गदर्शन दिन आवश्यक रहेको स्वीकार गर्दै मोबाइलको अनावश्यक प्रयोग घटाई सन्तानसँग बढी समय बिताउने प्रतिबद्धता जनाए। कार्यक्रममा सहभागी बुवाआमाले आफूहरूलाई गरिएको सम्मान र आदरले भावुक तथा उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए।


कार्यक्रममा विद्यालयका एकाडेमिक हेड तिलक डाँगी, विद्यार्थी दीपेश यादव तथा अभिभावकहरूले आफ्ना धारणा राख्दै परिवारभित्रको आत्मीयता, संवाद र आपसी विश्वासलाई अझ बलियो बनाउन सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले बुवाआमाको सम्मान, सन्तानको कर्तव्यबोध र परिवारमा गुणस्तरीय समयको महत्वलाई प्रभावकारी रूपमा उजागर गरेको थियो।