दाङ, ५ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाले सल्यानको एक गाउँपालिका अध्यक्षको निर्माण कम्पनीको जमानत जफत गर्ने निर्णय गरेको छ ।
उपमहानगरको २२औँ कार्यपालिका बैठकले तुलसीपुर बजार क्षेत्र सहित अन्य ठाउँमा बाटो मर्मत गर्ने ठेक्का पाएको जेन्सन कन्ट्रक्सनको जमानत जफत गर्ने निर्णय गरिएको हो ।
जेन्सन कन्ट्रक्सनलाई तुलसीपुर उपमहानगरले गत फागुन ३० गते सम्झौता गर्न आउन भन्दै पत्राचार गरेको थियो । तर,उक्त निर्माण कम्पनीले पत्र बुझेको १५ दिनसम्म पनि कार्यसम्पादन जमानत दाखिला पेश गर्न सकेको थिएन ।
कार्यपालिकाले गरेको निर्णयमा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा ५ बजोजिम जमानत दाखिला गरी बोलपत्र सम्झौत गर्न नआएकाले जेन्सन कन्ट्रक्सनको जमानत जफत गरी सम्वृद्वि कन्ट्रक्सनको बोलपत्र स्वीकृत गरिने उल्ललेख छ ।
स्रोतका अनुसार जेन्सन कन्ट्रक्सनको रकम करिब ४ लाख जमानत रकम जफत हुनेछ । जेन्सन कन्ट्रक्सनका संचालक सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरी हुन् ।
गिरी नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । ठेक्का पाएको जेन्सन कन्ट्रक्सनको जमानत जफत गरेसँगै अब दोस्रो निर्माण कम्पनीसंग कामको सम्झौता गर्ने तुलसीपुर उपमहानगरले जनाएको छ ।
लाइभदाङ । ५ जेष्ठ २०८१, शनिबार १२:०७ बजे