रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रोल्पा,१८ जेठ ।
रोल्पामा गाडी धुन खोलामा गएका एक व्यक्तिको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । माडी गाउँपालिका वडा नं. ४ तार्केवाङ स्थित स्याङखोलामा करेन्ट लाग्दा घर्तीगाउँ बस्ने ३९ वर्षीय हरि बहादुर घर्ती मगरको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका अनुसार सोमबार दिउँसो करिब ४ बजेतिर हरि बहादुर र रा १ च ११७४ नम्बरको पिकअप गाडीका चालक कोर्चावाङका ३४ वर्षीय कर्मलाल घर्ती मगर गाडी धुन स्याङखोला गएका थिए ।


चालकले गाडी धोइरहेका बेला हरि बहादुर आफूसँगै लगेको १२ भोल्टको ब्याट्री लिएर करिब १५० मिटर पश्चिममा माछा मार्न गएका थिए । सोही क्रममा अचानक करेन्ट लागेर उनी खोलाको छेउमा ढलेका थिए ।

बाख्रा गोठालाले उनलाई अचेत अवस्थामा देखेपछि चालक कर्मलाललाई खबर गरेका थिए । चालकले घटनास्थलमा पुगेर हेर्दा हरि बहादुरको मृत्यु भइसकेको थियो । अनुसन्धानका लागि चालक, पिकअप गाडी, माछा मार्न प्रयोग गरिएको १२ भोल्टको ब्याट्री र तार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।