गुरुकुल एकेडेमीमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न

घोराही,१७ जेष्ठ ।
विद्यार्थीहरूको स्वास्थ्य अवस्थाप्रति विशेष ध्यान दिँदै गुरुकुल एकेडेमी ले निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न गरेको छ । विद्यालयले राप्ती आँखा अस्पताल र डि नोभा डेन्टल क्लिनिक सँगको समन्वयमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि शिविर आयोजना गरेको हो । विद्यालय परिसरमा सम्पन्न शिविरमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श समेत प्रदान गरिएको थियो । शिविरमा डि नोभा डेन्टल क्लिनिकका डा। चेतनारायण पाण्डेय तथा राप्ती आँखा अस्पताल रक्षाचौरकी बबिता पाण्डेको नेतृत्वमा विशेषज्ञ टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेको विद्यालयका परीक्षा संयोजक बिबेक देवकोटाले जानकारी दिनुभयो ।

विद्यालयका अनुसार विद्यार्थीहरूको उमेर र आवश्यकता अनुसार फरक–फरक परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । मन्टेश्वरीदेखि कक्षा ३ सम्म अध्ययनरत बालबालिकाहरूका लागि आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो भने कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूका लागि दाँत परीक्षण शिविर आयोजना गरिएको थियो । परीक्षणका क्रममा विद्यार्थीहरूको आँखाको दृष्टि, आँखासम्बन्धी समस्या, दाँतको अवस्था तथा मुख स्वास्थ्य सम्बन्धी जाँच गरिएको थियो ।


शिविरमा सहभागी स्वास्थ्यकर्मीहरूले बालबालिकाको नियमित स्वास्थ्य परीक्षणले भविष्यमा हुन सक्ने जटिल समस्याबाट बच्न सहयोग पुग्ने बताएका थिए । उनीहरूले विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ, दाँतको उचित हेरचाह तथा आँखाको सुरक्षा सम्बन्धी सचेतनामूलक जानकारी समेत दिएका थिए ।विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्यप्रति अभिभावक र विद्यालय दुवैलाई थप जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै आगामी दिनमा पनि विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ ।