दंगीशरणका हरेक महिलाहरु उद्यमशिल हुन जरुरी छ : उपाध्यक्ष खड्का

दिपतीशिखा चौधरी,

दंगीशरण, २९ जेठ ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरणका हरेक महिलाहरु उद्यमशिल हुन जरुरी रहेको बताउँनुभएको छ । आर्थिक रुपले जहिले पनि पिछडिएका महिलाहरुका लागि स्थानीय सरकार आएदेखि नै महिला नेतृत्व तथा उद्यमशिलतासंग जोडिएका कार्यक्रमहरु संचालनमा आईरहेकाले यसलाई कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । दंगीशरण गाउँपालिकाको आयोजनामा विपन्न महिलाहरुका लागि स्थानीय उत्पादन बाट १० दिने अचार बनाउँने तालीम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले यस्तो बताउँनुभएको हो । पाचँ वर्षको अवधिमा कैयौँ वडामूखी महिला उद्यमशिल तथा क्षमता विकास कार्यक्रमहरु गरेपनि कुनै पनि वडामा महिलाहरु उद्यमी तरीकाले ब्यवसायमा लागि नपरेको भन्दै अवको पाँच वर्षमा कार्यक्रम पश्चात अनुगमनका कार्यक्रम अगाडि बढाउँने बताउँनु भयो । घरमै बसीबसी आयआर्जन गर्न सकिने ब्यवसाय पनि नगर्ने, जहिले आर्थीक अवस्था कमजोर छ भन्ने महिला दिदिबहिनीहरु आत्मनिर्भर हुनका लागि घरको काम पश्चात बचेको समयलाई ब्यवसायमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले महिलाहरु ईच्छा शक्तिलाई बाहिर ल्याई सीकेको सिपलाई बाहिर ल्याउँन आग्रह गर्दै गाउँपालिकाले महिलाहरुको माग बमोजिम नै अवका दिनमा कार्यक्रमहरु संचालनमा ल्याउँने बताउँनुभयो । तालीममा सहभागिहरुले तालीम पछि समुह बनाएर ब्यवसायसंग जोडिने प्रतिवद्धता जनाएका थिए । सो अवसरमा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । २५ जना महिलाहरुको सहभागिता रहेको तालीमको प्रशिक्षकमा शारदा आचार्य र शान्ता पौडेल रहनुभएको थियो । कार्यक्रमको शहजीकरण महिला बालबालीका शाखाकि चन्द्रा वलीले गर्नुभएको थियो ।