
आलोक भावुक
गढवा,१३ जेठ ।
प्रगतिवादी साहित्यकार तथा शहिद कृष्ण सेन इच्छुक को २४औँ स्मृति दिवसको अवसरमा दाङको गढवा गाउँपालिका मा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरिएको छ। प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको आयोजना तथा गढवा गाउँपालिका को आर्थिक सहयोगमा बिहीबार सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा साहित्य, चेतना, परिवर्तन र शहिद कृष्ण सेन इच्छुकको योगदानलाई केन्द्रमा राखेर कविता वाचन गरिएको थियो।
कार्यक्रम प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाका चन्द्र बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका कार्याबाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा नागरिक समाज दाङका अध्यक्ष निम बहादुर थापाको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।
कविता प्रतियोगितामा शुभतारा बोर्डिङ स्कुलकी छात्रा महिमा शर्मा प्रथम हुन सफल हुनुभएको थियो। त्यसैगरी सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडिहा की छात्रा नमिता राना द्वितीय तथा दिपेन्द्र होमजुन माध्यमिक विद्यालय प्रसेनी की छात्रा सुरक्षा जिसी तृतीय हुनुभएको थियो । विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा कुमारी चौधरीले शहिद कृष्ण सेन इच्छुकको जीवन संघर्ष, साहित्यिक योगदान र परिवर्तनकारी विचारधाराबाट विद्यार्थीहरूले प्रेरणा लिनुपर्ने बताउनुभयो। उहाँले सत्य र न्यायको पक्षमा उभिँदा ज्यानको आहुती दिनसमेत पछि नपर्ने व्यक्तित्वका रूपमा इच्छुक नेपाली समाजका लागि सदैव प्रेरणाको स्रोत रहने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “साहित्य समाज परिवर्तनको सशक्त माध्यम हो। कृष्ण सेन इच्छुकले आफ्नो लेखनीमार्फत अन्याय र विभेदविरुद्ध आवाज उठाउनुभयो। विद्यार्थी भाइबहिनीहरूले उहाँको संघर्षशील जीवनबाट सिक्दै सकारात्मक चेतना र सामाजिक उत्तरदायित्व बोकेर अघि बढ्नुपर्छ।”
विशिष्ट अतिथि निम बहादुर थापाले आफू कृष्ण सेन इच्छुकसँग सँगै पढेको र नजिकबाट बुझ्ने अवसर पाएको स्मरण गर्दै उहाँ बहुआयामिक व्यक्तित्व, प्रगतिशील चिन्तक तथा क्रान्तिकारी विचारका सशक्त योद्धा भएको बताउनुभयो। उहाँले इच्छुकका विचार र दर्शनले नेपाली राजनीतिक तथा साहित्यिक आन्दोलनलाई नयाँ दिशा दिएको उल्लेख गर्नुभयो।
त्यसैगरी कार्यक्रममा मन्तव्य राख्दै चुनचुन केसी ले कृष्ण सेन इच्छुकजस्तो त्यागी, विचारवान र समाजप्रति समर्पित व्यक्तित्व आफूले आजसम्म कमै देखेको बताउनुभयो। उहाँले इच्छुकले गरेको प्रगतिशील विवाह र सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाको स्मरण गर्दै इतिहासले उहाँको योगदानको सधैँ सम्मान गर्ने धारणा राख्नुभयो। कार्यक्रममा निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष कपिलदेव खनाल र रेशम बिसी, पत्रकार तथा साहित्यकार आस्था केसीले कविता वाचन गर्दै शहिद कृष्ण सेन इच्छुकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पुरण शर्मा, पत्रकार तथा साहित्यकार आस्था केसी लगायतले साहित्य र समाज परिवर्तनबीचको सम्बन्धबारे धारणा राख्नुभएको थियो।
कविता प्रतियोगिताको मूल्यांकन रेशम बिसीको संयोजकत्वमा तीन सदस्यीय समितिले गरेको थियो। समितिमा निम बहादुर थापा र गोबिन्द केसी सदस्य रहनुभएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले शहिदको योगदान, सामाजिक न्याय, परिवर्तन, देशप्रेम तथा जनचेतनामूलक विषयमा आधारित कविता प्रस्तुत गरेका थिए।
कार्यक्रममा सिता यादव, चेतनाथ पौडेल, कृष्ण कुमार यादव लगायत शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रगतिशील लेखक संघ नेपाल दाङ शाखा सचिव पुरण शर्मा को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिपेन्द्र होमजुन माध्यमिक विद्यालय प्रसेनीका केशव शर्माले गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले शहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसलाई केवल औपचारिकतामा सीमित नराखी उहाँका विचार, साहित्यिक चेतना र समाज रुपान्तरणको अभियानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।



लाइभदाङ । १३ जेष्ठ २०८३, बुधबार २०:४६ बजे